
श्रेणी : BANNER
काठमाडौं,२७ जेठ । ऋण सहजीकरणको नाममा घुस लिएको आरोपमा नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित भुसाल हस्पिटालिटी परियोजनाले बैंकबाट रु. १ अर्ब ७७ करोड २९ लाखभन्दा बढीको ऋण लिन डा. अधिकारीले १९ लाख रुपैयाँ घुस लिएका थिए। घुस रकम फरक-फरक व्यक्तिमार्फत सन् २०८१ सालको भदौ ३ गते सात लाख र १२ लाखको चेकमार्फत दिइएको पाइएको हो।
यस घटनामा डा. अधिकारीसँगै लक्की उर्फ खुस नसिब अन्सारी, भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल, उनका छोरा अंकित भुसाल र अमृत भुसालसमेत प्रतिवादी बनाइएको छ। अख्तियारले सबै प्रतिवादीसँग सोही रकम बराबरको बिगो माग गर्दै मुद्दा दायर गरेको छ।
५० लाख घुस मागेको अर्को प्रकरण
डा. अधिकारीविरुद्ध अर्को अभियोग तनहुँको आँबुखैरेनीस्थित अकला देवी ट्रेडर्स का सञ्चालकसँग ५० लाख रुपैयाँ घुस मागेको छ। ऋण प्रक्रिया सहज गरिदिने बहानामा मागिएको यो रकमसम्बन्धी छुट्टै मुद्दा पनि विशेष अदालतमा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।यस प्रकरणमा डा. अधिकारीसँगै नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी र खुस नसिब अन्सारीविरुद्ध ५० लाख रुपैयाँ बराबरको बिगो माग गर्दै दोस्रो मुद्दा दायर गरिएको हो।
तेस्रो मुद्दा: पाँच लाख घुस प्रकरण
डा. अधिकारीविरुद्ध तेस्रो मुद्दा काठमाडौं महानगरपालिका–३२ मा रहेको हिमाल तराई कन्स्ट्रक्सन प्रा.लि. को ऋण प्रक्रियामा सहजीकरण गर्ने क्रममा पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा दायर गरिएको छ। यो घटनामा डा. अधिकारीसँगै रमेश आचार्य पनि प्रतिवादी छन्।
इञ्जिनियर रामबाबु महतोविरुद्ध अकूत सम्पत्ति प्रकरण
यसैबीच, अख्तियारले काठमाडौं महानगरपालिकाका पूर्वइञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध पनि अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ। कोइरीले सार्वजनिक सेवामा रहँदा करिब रु. ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ स्रोतबिहीन सम्पत्ति आर्जन गरेको पाइएको छ।
आयोगले उनको आम्दानीभन्दा बढी भएको खर्च तथा लगानीमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद र बैंक मौज्दात रहेकाे देखिएको उल्लेख गरेको छ। ती सम्पत्ति उनकी श्रीमती मालाकुमारी महतोको नाममा रहेको भन्दै दुबैजनाविरुद्ध मुद्दा दायर गरिएको हो।


प्रतिक्रिया