श्रेणी : प्रदेश
काठमाडौं, २१ पुस । नेपाली कांग्रेसले आफ्नो पार्टी र जनप्रतिनिधिको समन्वयको लागि ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ गठन गर्ने निर्णय गरेको छ। पार्टीका महामन्त्री गगन थापाले १६ माघ भित्र पार्टीका जितेका पालिकामा यो संयन्त्र गठन गरिने जानकारी दिएका छन् ।
संयन्त्रमा प्रत्येक पालिकाको पार्टी संरचनाबाट ३/३ जनप्रतिनिधि र अन्य दुई सदस्यको थप हुनेछ। थप दुई सदस्य भने विज्ञ र अभिभावकीय भूमिका खेल्नसक्ने व्यक्तिबाट छनोट गरिनेछन्। संयन्त्रको बैठक प्रत्येक दुई महिनामा बस्नेछ र यसको उद्देश्य पार्टी संरचना र जनप्रतिनिधिहरू बीचको संवाद र समन्वयलाई मजबुत बनाउनु हो ।
महामन्त्री थापाले पोखरामा आयोजित एक कार्यक्रममा जनप्रतिनिधिहरूसँग पार्टीका बीचको संवादमा कमी भएको कुरा उठाउँदै, संयन्त्र गठनको आवश्यकता रहेको बताएका छन्।
संयन्त्रले जनप्रतिनिधिहरूको कामको जानकारी आदान प्रदान गर्ने, जनचासो र जनगुनासोका मुद्दाहरूमा छलफल गर्ने अवसर पनि प्रदान गर्नेछ। यसले पार्टी संरचनासँग जनप्रतिनिधिहरूको समन्वयलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
कांग्रेसले कुल ३३० पालिकामा विजय हासिल गरेको छ र यस संयन्त्र गठनले पार्टीको स्थानीय तहमा प्रभावलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया