वीरगन्ज :

नेपाली कांग्रेसको आह्वान : संयम, संवाद र एकताले मात्र निकास सम्भव

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.5kViews
1634 Shares

काठमाडौं, भदौ २५, २०८२। हालै Gen-Z युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा भड्किएका घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ। पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापाले संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण समाधानका लागि संयम, संवाद र एकता अपरिहार्य रहेको औँल्याएका छन्।

विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। दुई दिनभित्र भएका घटनापछि देशलाई शान्ति र पुनर्निर्माणको बाटोमा अघि बढाउन सबै पक्षले गम्भीर बन्नुपर्ने आह्वान कांग्रेसले गरेको छ।

संवादबाटै समाधान खोजौं

कांग्रेसले राष्ट्रपति समन्वयमा भइरहेको पहलको स्वागत गर्दै सबै पक्षसँग परामर्श र संवादमार्फत मात्र निकास खोज्न आग्रह गरेको छ। सुरक्षा निकाय, नागरिक समाज, सञ्चार जगत र अन्तर्राष्ट्रिय समुदाय सबैले यस प्रक्रियालाई सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।

त्यसक्रममा विज्ञप्तिमा भनिएको छ — संविधान र लोकतान्त्रिक बाटो बाहिर गएर निर्णय गर्दा अराजकता निम्त्याउने चेतावनी दिँदै नयाँ संरचना निर्माण र निर्वाचन प्रक्रियासहितका निर्णयहरू वैधानिक बाटोबाट नै अघि बढाउनुपर्ने आवश्यकता छ।

अत्यधिक बल प्रयोगको छानबिनको माग

सोमबारको प्रदर्शनका दिन भएको अत्यधिक बल प्रयोगलाई गम्भीर अपराध ठहर गर्दै कांग्रेसले उच्चस्तरीय आयोगमार्फत छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। साथै, प्रधानमन्त्रीले ढिलासुस्ती र नागरिकको मागप्रति बेवास्ता गर्दा स्थिति बिग्रिएको स्वीकार गर्नुपर्ने उल्लेख गरिएको छ।

आगो, तोडफोड र लुटपाटप्रति घोर निन्दा

कांग्रेसले शान्तिपूर्ण प्रदर्शनलाई कमजोर बनाउन नियोजित ढंगले घुसपैठ गरी सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, संसद भवन लगायतका संस्थामा गरिएको आगजनीलाई निन्दा गरेको छ। “यो Gen-Z युवाहरूको माग होइन, तर अवसरवादी स्वार्थ समूहको तोडफोड हो,” विज्ञप्तिमा उल्लेख छ।

यससँगै सभापति शेरबहादुर देउवा लगायत नेतामाथि भएको आक्रमण र नागरिकको निजी सम्पत्तिमाथि गरिएको क्षतिलाई पार्टीले गम्भीर र निन्दनीय करार गरेको छ।

आत्मसमीक्षा र पुनर्निर्माणको प्रतिबद्धता

विज्ञप्तिमा सत्तामा पुगेका दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार बढेको तथ्य स्वीकार गर्दै कांग्रेसले आत्मसमीक्षा गर्ने र युवापुस्ताको आकांक्षाअनुसार जिम्मेवार राजनीतिमा रुपान्तरण हुने प्रतिबद्धता जनाएको छ।

“नेपाली कांग्रेस फेरि जनउत्तरदायी दल बनेर अघि आउनेछ, संविधानको उपलब्धि उल्टिने प्रयासलाई रोकिनेछ,” विज्ञप्तिमा भनिएको छ।

एकताका लागि आह्वान

महामन्त्री शर्मा र थापाले विश्वभरका नेपालीलाई संयमित रहन, सामाजिक एकता र सद्भाव बलियो बनाउन र नयाँ उत्साहसहित पुनर्निर्माणमा लाग्न आह्वान गरेका छन्।

— विश्वप्रकाश शर्मा, महामन्त्री
— गगन कुमार थापा, महामन्त्री

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *