
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,०६ असार । त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटको शानदार जित दर्ता गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो।
नेपालका ओपनर कुशल भुर्तेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै ५१ बलमा ६ चौका प्रहार गर्दै ६५ रनको योगदान दिए। ६०औं टि–२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका कुशलले आफ्नो ११औं अर्धशतक पूरा गरे। नेदरल्याण्ड्सविरुद्ध यो उनको नवौं खेलमा चौथो अर्धशतक हो।
खेलको क्रममा कुशलले भाग्यको साथ पनि पाए९.४ ओभरमा ४४ रन हुँदा उनलाई नोहा क्रोसले क्याच फालेका थिए।
कुशलसँग दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका भीम सार्कीले आफ्नो टि–२० अन्तर्राष्ट्रिय डेब्यु खेलमै १६ बलमा २७ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। उनलाई उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप प्रदान गरेका थिए।
तेस्रो विकेटमा कप्तान रोहित पौडेल ७ बलमा ५ रनमै पवेलियन फर्किए। तर चौथो विकेटका लागि आरिफ शेखले कुशलसँग मिलेर २७ बलमा ४४ रनको साझेदारी गरे। आरिफले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन जोडे, रिटायर्ड हर्ट भए।
अन्तिम चरणमा उपकप्तान दीपेन्द्रसिंह ऐरी १२ बलमा १६ रनमा अविजित रहे भने लोकेश बमले ४ बलमा १२ रन बनाउँदै छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। ओपनर माइकल लेविटले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८६ रनको धुवाँधार अर्धशतक बनाए।
सकिव जुल्फिकरसँग पाँचौं विकेटका लागि ६३ रनको साझेदारी गरे पनि सन्दीप लामिछानेले त्यो साझेदारी तोडे।
अन्य ब्याटरमध्ये रोइलेफ भान डर मिर्वोले २१ बलमा ३६ र आर्यान दत्तले १८ बलमा १७ रन बनाए। बाँकी ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका तर्फबाट करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेश सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट हात पारे।
यस जितसँगै नेपालले ३ खेलमा २ जितसहित ४ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ। नेदरल्याण्ड्स पनि ४ अंकमै छ तर खराब रनरेटका कारण दोस्रो स्थानमा झरेको छ।


प्रतिक्रिया