श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ,१५ पुस । नेपालमा मङ्कीपक्स (एमपक्स) संक्रमणका थप एक नयाँ केस पुष्टि भएको छ। साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय पुरुषमा यो संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
“थप एक व्यक्तिमा मङ्कीपक्स पुष्टि भएको छ। परीक्षणको क्रममा संक्रमण देखिएको हो। संक्रमणको पृष्ठभूमिबारे विस्तृत विवरण चाँडै सार्वजनिक गर्नेछौँ,” डा. बुढाथोकीले भने।
यसअघि पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा मङ्कीपक्स पुष्टि भएको थियो। उनी पनि साउदी अरेबियाबाट फर्किएका थिए। नेपालमा पहिलो पटक २०८० असार १ गते एक विदेशी नागरिकमा मङ्कीपक्स संक्रमण देखिएको थियो।
मङ्कीपक्स बिफर रोग प्रजातिको भाइरसबाट हुने संक्रमण हो। यो संक्रमित व्यक्ति वा जनावरसँग प्रत्यक्ष सम्पर्क, संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ, घाउ खटिरा, तथा दूषित सामग्रीजस्तै ओछ्यान र लुगाबाट सजिलै सर्ने गर्छ।
श्वासप्रणाली, आँखा, नाक, मुख, तथा फुटेको छाला जस्ता संवेदनशील भागबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ। बाँदर, मुसा, लोखर्केलजस्ता जनावरहरूसँगको सम्पर्कले पनि संक्रमण फैलिन सक्छ।
स्वास्थ्य मन्त्रालयले मङ्कीपक्स संक्रमण रोकथामका लागि सावधानी अपनाउन र संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क नगर्न सबैलाई आग्रह गरेको छ।
प्रतिक्रिया