श्रेणी : अन्तर्राष्ट्रिय
जनकपुर,०२ पुस । नेपालमा बैंक लुटपाटमा संलग्न भइ फरार रहेका भारतीय नागरिक आरिफ खान उर्फ आरिफ हुसेनलाई सिरहामा घाइते अवस्थामा पक्राउ गरिएको छ। सिरहा प्रहरीका अनुसार, भारतबाट नेपालतर्फ भाग्दै गर्दा उनलाई नेपाल–भारत दसगजा क्षेत्र नजिक नियन्त्रणमा लिइएको हो।
प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंसिर २९ गते बिहान सिरहा नगरपालिका–१७ माडरस्थित सीमाक्षेत्रमा घाइते अवस्थामा आरिफलाई पक्राउ गरेको हो। हातखुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेका आरिफको सिरहा प्रादेशिक अस्पतालमा उपचारपछि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको छ।
डिएसपी पासवानका अनुसार, आरिफ १६ जेठ २०८० मा महोत्तरीको एनएमबी बैंकमा भएको ३८ लाख रुपैयाँ लुटपाट घटनाका मुख्य अभियुक्त हुन्। साथै, उनले १० फागुन २०७९ मा सिरहाको कल्याणपुरस्थित ग्लोबल आईएमई बैंकका सहायक लेखापाल उपेन्द्र साहबाट मिर्चैया बताहा पुल नजिक ९ लाख रुपैयाँ लुटपाट गर्ने गिरोहमा पनि संलग्नता रहेको पुष्टि भएको छ।
भारतीय प्रहरीले आरिफमाथि विहारको मधुबनी जिल्लामा हातहतियार र लुटपाटका गम्भीर मुद्दा दर्ता गरेको छ। भारतीय प्रहरीले उनलाई पक्राउ गर्न २५ हजार रुपैयाँको पुरस्कारसमेत घोषणा गरेको थियो।
सिरहा प्रहरीले आरिफको पक्राउलाई ठूलो सफलता मान्दै लुटपाटमा संलग्न अन्य गिरोहबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका आरिफलाई नेपाल र भारतमा भएका आपराधिक गतिविधिहरूको सम्बन्धमा कारबाही अघि बढाइने बताइएको छ।
प्रतिक्रिया