वीरगन्ज :

नेपालमा परिवर्तन प्रजातन्त्र सेनानीको सक्रियताबाट सम्भव छ’ : विमलेन्द्र निधि

श्रेणी : मधेस

10 months
Pradeep Sah
2.5kViews
1606 Shares

धनुषा, २२ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले प्रजातन्त्र सेनानीहरूको संघर्ष र सक्रियताका कारण नेपालमा ऐतिहासिक परिवर्तन सम्भव भएको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घ, मधेश प्रदेशको पहिलो प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रजातन्त्र सेनानीको भूमिका बिना नेपालमा हासिल भएका अधिकार र परिवर्तनको सम्भावना नरहेको दाबी गरे ।

नेता निधिले भने, “नेपालमा जनताले आजसम्म जे जति अधिकार प्राप्त गरेका छन्, त्यसमा प्रजातन्त्र सेनानीहरूको अद्वितीय भूमिका छ। राणा शासनको अन्त्य गरेर संवैधानिक राजतन्त्र र संसदीय प्रणालीको स्थापनामा प्रजातन्त्र सेनानीहरूको नेतृत्व र संघर्षको ठूलो योगदान रहेको छ ।”

उनले निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती शासनको अन्त्य गर्दै बहुदलीय प्रणालीको स्थापनामा प्रजातन्त्र सेनानीहरूको प्रमुख भूमिका भएकोमा जोड दिए। “प्रजातन्त्र सेनानीहरूको सक्रिय भूमिकाबिना नेपालमा परिवर्तन सम्भव थिएन,” उनले थपे ।

नेता निधिले प्रजातन्त्र सेनानीहरूलाई क्रान्तिकारी, आन्दोलनकारी र सङ्घर्षशीलका रूपमा प्रस्तुत गर्दै सरकारसँग प्रजातन्त्र सेनानीहरूको हकमा एउटा आयोग गठन गर्ने कुरा पनि प्रस्ताव गरे ।

त्यसै गरी, नेता निधिले पुराना पुस्ताका संघर्ष र इतिहासलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न आवश्यक रहेको धारणा व्यक्त गरे। उनले भने, “यदि हामी पुराना पुस्ताका संघर्ष र योगदानको थोरै जानकारी राख्न सक्छौँ भने, यसलाई भावी पुस्तासम्म साँचो तरिकाले हस्तान्तरण गर्न सक्छौँ ।”

अन्त्यमा, नेता निधिले वर्तमान संविधानका कतिपय प्रावधानमा संशोधनको आवश्यकता रहेको भन्दै, कांग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *