
श्रेणी : मधेस
काठमाडौं,०१ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पनि उम्मेदवार र पार्टीले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली अनिवार्य रूपमा लागू गर्नु पर्ने बताएका छन्।
शनिबार संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक कार्यक्रममा बोल्दै यादवले वर्तमान प्रणालीले भ्रष्टाचार, खर्चिलो प्रतिस्पर्धा र असमानताको जडलाई मलजल दिएको बताए।
उनले भने, “विश्वमा त्यस्ता ७१ वटा निर्वाचन प्रणाली छन्, जहाँ उम्मेदवार र पार्टीले खर्च गर्नुपर्दैन। नेपालजस्तो गरिब र असमान मुलुकमा पनि यस्तै प्रणाली आवश्यक छ। अहिलेको व्यवस्था भ्रष्टाचार बढाउने माध्यम बनेको छ।”
यादवले नेपालमा प्रधानमन्त्री ‘देशको नेता’ नभई केवल निर्वाचन क्षेत्रको प्रतिनिधि जस्तो व्यवहार भएको टिप्पणी गर्दै भने, “प्रधानमन्त्रीका स्रोत-साधन पनि क्षेत्रमै सीमित हुन्छन्। यस्तो व्यवस्थाले समग्र देशको हित होइन, सानो गुटको सत्ता-लाभ मात्र सुनिश्चित गर्छ।”
उनले थपे, “कतिपय सांसद न घरका हुन्छन्, न घाटका। ठूलो लगानी गरेर चुनाव जित्नेहरूले पछि त्यो लगानी उठाउने मानसिकतासहित राजनीति गर्छन्, जसले गर्दा सेवा होइन, सौदा प्राथमिकता बन्छ।”
राजनीतिक अस्थिरताको मुख्य कारण मन्त्री बन्ने होड रहेको भन्दै यादवले संसद्बाट ‘मन्त्री’ शब्द नै हटाउनुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार, “पार्टी फुटाउने खेल, रातारात नेता निकाल्ने रणनीति सबै मन्त्रीको लोभका कारण हुन्। ‘मन्त्री’ शब्द हटेपछि खरिदबिक्री रोकिन्छ। खसीबोकाको त भाउ छ, तर सांसदहरूको छैन।”

प्रतिक्रिया