
श्रेणी : खेलकुद
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । जसमा भीम सार्कीले अविजित ७७ रनको योगदान गरे ।
टोलीको स्कोर २५ रन हुँदा पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएपछि भीम ब्याटिङ गर्न आएका थिए । त्यसपछि उनले अविजित ७७ रनको विजयी पारी खेले । यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ३९, जोडे । भीम र दीपेन्द्रबीच अविजित ७४ रनको साझेदारी भयो । यसका साथै कुशल मल्लले ३९ रन बनाए ।
यसअघि जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो । अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेल्दै १ सय रनमा अविजित रहे ।
नेपालका लागि करण केसीले ४,गुल्शन झाले ३, दीपेन्द्रसिंह ऐरीले २,ललित राजवंशीले एक विकेट हात पारे । नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो । यो जितसंगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनेको छ ।


प्रतिक्रिया