रौतहट,१५ चैत । नेपाल–भारत सीमाक्षेत्रमा ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै सुरक्षाकर्मीले दुई जनालाई पक्राउ गरेका छन्।
सशस्त्र सीमा बल (SSB)ले बारा नजिकको सीमाक्षेत्रमा सञ्चालन गरेको संयुक्त अपरेसनमा कोडिनयुक्त ‘ओनेरेक्स’ कफ सिरप बरामद गरिएको हो। शनिबार साँझ करिब ७:४५ बजे सूचनाका आधारमा मोतिहारीस्थित एसएसबी ७१ बटालियनको टोलीले छौडादानो थानासँग मिलेर कारबाही गरेको थियो।
प्रहरीका अनुसार बीआर २२ जीसी ७३८२ नम्बरको टाटा एस गोल्ड सवारीसाधनबाट १०० एमएलका ८४० बोतल ओनेरेक्स कफ सिरप बरामद गरिएको छ। उक्त सामग्री भारतबाट नेपालतर्फ तस्करी गरेर ल्याइँदै गरेको अवस्थामा सीमास्तम्भ नजिक फेला परेको हो।
घटनामा भारत पश्चिम चम्पारणका जन्मेजय कुमार मिश्र र बारा जिल्लाका रमेश प्रसाद पक्राउ परेका छन्।
बरामद लागूऔषध र पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि भारतीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र सीमा बल (SSB)ले जनाएको छ।

प्रतिक्रिया