
श्रेणी : BANNER
काठमाडाैं,१० जेठ । नेपाल सरकारले लिएको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ, जुन मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४२.९४ प्रतिशत हो। २०७८ सालको जनगणना अनुसार जनसंख्या आधारमा हेर्दा प्रत्येक नेपालीको टाउकोमा करिब ९० हजार रुपैयाँ ऋण परेको छ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५१.६९ प्रतिशत रहेको छ, जसको मूल्य १३ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ छ। चालू आर्थिक वर्षको पहिलो १० महिनामा मात्रै सरकारले झन्डै ४ खर्ब रुपैयाँ ऋण लिएको छ।
त्यस्तै, यो अवधिमा सरकारले पुराना ऋणको साँवा र ब्याज तिर्न ३ खर्ब ८ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। यसैअनुसार हाल कुल ऋण सेवा खर्च जीडीपीको ५.०५ प्रतिशत पुगेको छ।
सरकारले चालु आर्थिक वर्षमा आन्तरिक र बाह्य ऋण संकलनका लागि अलग-अलग लक्ष्य तोकेको थियो। आन्तरिक ऋण संकलनमा ९१.२५ प्रतिशत प्रगति भए पनि बाह्य ऋण संकलन लक्ष्यको तुलनामा निकै कम, अर्थात् ४१.३३ प्रतिशत मात्र प्राप्त भएको छ।


प्रतिक्रिया