श्रेणी : अन्तर्राष्ट्रिय
नेटो नेतृत्वको गठबन्धनले किएभलाई परिष्कृत हवाई प्रतिरक्षा अस्त्रहरू उपलब्ध गराउने घोषणा गरेको छ । पछिल्ला क्षेप्यास्त्र हमलापछि बेलायत, क्यानडा, फ्रान्स र द नेदरल्याण्ड्सले क्षेप्यास्त्र र रेडारहरू सहितका त्यस्ता अस्त्रहरू युक्रेनलाई दिने बाचा गरेका हुन् ।
अमेरिकाले यसअघि नै त्यस्तो बाचा गरेको थियो । जर्मनीले दिएको एउटा उच्च प्रविधिको प्रणाली यसअघिदेखि नै युक्रेनमा छ । ब्रसल्सस्थित पश्चिमा सैन्य गठबन्धन नेटोको मुख्यालयमा युक्रेनलाई सघाउने ५० देशका नेताहरू जुटिरहँदा त्यस्ता बाचाहरू गरिएका हुन् ।
किएभले उक्त सम्मेलनलाई ऐतिहासिक भएको बताएको छ । किएभका अनुसार गत सोमबार र मङ्गलबार रुसले युक्रेनी ऊर्जा पूर्वाधार र अन्य गैरसैनिक निशानामा १०० भन्दा धेरै क्षेप्यास्त्र र कैयौँ ड्रोनहरूमार्फत् हमला गरेको थियो । हमलाको पहिलो दिनमा कम्तीमा १९ जना मानिसहरू मारिएका थिए ।
त्यससँगै कैयौँ युक्रेनी सहरहरूमा व्यापक रूपमा विद्युत् अवरुद्ध हुनुका साथै पानीको आपूर्ति काटिएको छ । रुसी राष्ट्रपति पुटिनले ती हमलाहरू रुसलाई अधीनस्थ क्राइमियासँग जोड्ने एउटा मुख्य पुलमा भएको प्रहारको जबाफ भएको बताएका छन् ।
बेलायतले हवाई प्रतिरक्षा सम्बन्धी क्षेप्यास्त्र प्रणालीहरू र सूचना सङ्कलन र बन्दोबस्त क्षमताका निम्ति सयौँ हवाई ड्रोनहरू युक्रेनलाई दिनेछ । उसले लामो दूरी प्रहार गर्ने १८ वटा हाविज्जर आर्टिलरी गन समेत दिनेछ। लण्डनले त्यस्ता ६४ वटा अस्त्र यसअघि नै दिएको छ ।
प्रतिक्रिया