वीरगन्ज :

नेकपा नेता मनोज चौधरी पुर्पक्षका लागि थुनामा

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.2kViews
1146 Shares

बीरगन्ज,१४ चैत । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा नेकपा केन्द्रीय सदस्य मनोज चौधरीलाई जिल्ला अदालत पर्साले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश कमलकान्त जोशीको इजलासले थुनछेक बहसपछि चौधरीलाई कारागार चलान गर्न आदेश दिएको हो। उनीमाथि गाडीबाट शंकास्पद विस्फोटकजस्तो वस्तु फेला परेको अभियोग लगाइएको छ।

सोही प्रकरणमा पक्राउ परेका अन्य तीन जनालाई भने धरौटीमा रिहा गर्ने आदेश भएको छ। अदालतले सत्यनारायण दास थारू र सुरज कार्कीलाई जनही १ लाख ५० हजार तथा चालक सहाब आलम अन्सारीलाई २ लाख रुपैयाँ धरौटी तोकेको छ। धरौटी बुझाउन नसक्नेहरू भने हाल थुनामै रहेका छन्।

प्रहरीले फागुन १९ गते सवारी जाँचका क्रममा उक्त सामग्री फेला पारेको दाबी गर्दै चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि सरकारी वकिलको कार्यालयले विस्फोटक पदार्थ र निर्वाचनसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।

थुनछेक बहसका क्रममा प्रतिवादी पक्षले पर्याप्त प्रमाण नभएको दाबी गरेको थियो। उनीहरूका अनुसार घटनास्थलमा मतदान केन्द्रसमेत नभएकाले निर्वाचनसम्बन्धी आरोप कमजोर रहेको तर्क प्रस्तुत गरिएको थियो।

यद्यपि, अदालतले मुद्दाको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै मुख्य अभियुक्तका रूपमा चौधरीलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *