
श्रेणी : प्रदेश
काठमाडाैं,०७ जेठ । नेकपा एकीकृत समाजवादीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ मूल नारासहित दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले जेठ ५ देखि ३१ गतेसम्म देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।
पार्टी महासचिव घनश्याम भुसालले वैशाख ६ गते देशभरका पार्टी संगठनहरूलाई परिपत्र पठाउँदै आन्दोलनको कार्यतालिका सार्वजनिक गरेका हुन्। दोस्रो चरणमा कोणसभा, धर्ना, विचारगोष्ठी र मागपत्र बुझाउने लगायतका कार्यक्रमहरू समावेश गरिएका छन्।
भुसालले यस चरणले पार्टीका पंक्तिलाई आन्दोलनको वरिपरि गोलबन्द गर्दै आगामी संघर्षको आधार तयार गर्ने बताए। यसै क्रममा बाँकी रहेका प्रदेश, जिल्ला र पालिका अधिवेशनहरू पनि सम्पन्न गरिनेछ।
पार्टीले असार र साउन महिनामा प्रशिक्षण कार्यक्रममार्फत संगठन सुदृढीकरणलाई थप मजबुत बनाउने योजना पनि बनाएको छ। भदौदेखि भने आन्दोलनको तेस्रो चरण सुरु गर्ने तयारी रहेको छ, जसलाई यसअघि भएका चरणभन्दा अझ प्रभावकारी र सशक्त बनाउने अपेक्षा गरिएको छ।
नेकपा एकीकृत समाजवादीले सुशासन, रोजगारी, समाजवाद र संगठन सुदृढीकरणलाई एउटै दिशा दिएर अघि बढाउने रणनीति बनाएको छ।


प्रतिक्रिया