
श्रेणी : BANNER
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममा शंका गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मंगलबार राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले मूलतः नीति तथा कार्यक्रम आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित भएकाले यसमा शङ्का गर्नुपर्ने ठाउँ नरहेको बताएका हुन् ।
उनले नीति तथा कार्यक्रम गफको पुलिन्दा नभएकोसमेत स्पष्ट पारे । उनले भने,‘नीति तथा कार्यक्रमले धेरै र राम्रा कुरा समेटेको छ । तर कार्यान्वयन त हुन्छ भन्ने संशययुक्त शङ्का व्यक्त गर्नुभएको छ, त्यो शङ्का नगर्न म सबै माननियहरुलाई आग्रह गर्छु ।’
प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएपछि दुईवटा गठबनधन बनेको र दुवै गठबन्धनले ल्याएको साझा न्यूनतम कार्यक्रमअनुसार नै नीति तथा कार्यक्रम ल्याएकाले विरोध गर्नुको धरातल नहुने बताए ।
उनले भने, ‘सैद्धान्तिक, राजनीतिक र नैतिक धरातलमा उभिएर भन्ने हो भने यो नीति तथा कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको बन्न गएको छ । यो मौलिक विशेषता दुर्लभ भेटिन्छ, सधैं यस्तो भेटिँदैन । यसको विरोध गर्ने पनि सैद्धान्तिक र नैतिक धरातल देखिँदैन ।’
उनले नीति तथा कार्यक्रममा विगतका राम्रा कार्यक्रमलाई पनि निरन्तरता दिएको बताए । प्रधानमन्त्रीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए । उनले सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताए ।
उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रस्ट छ । थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिवद्ध रहेको जानकारी पनि माननीय सदस्यहरुलाई गराउन चाहन्छु ।’
प्रस्तुत नीति तथा कार्यक्रमले सङ्घीयताको सदृढीकरण, अर्थतन्त्रको संरचनात्मक सुधार र पुनःउत्थान, कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकीकरण, आद्योगिक क्षेत्रको प्रवद्र्धन, उत्पादन र रोजगार वृद्धि गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
“आयात व्यवस्थापन र निर्यात प्रवद्र्धन, विकास निर्माण कार्यको निर्धारित लागत र समयमा सम्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्यलगायतका सार्वजनिक सेवाको पहुँच र गुणस्तर, शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण एवं सामाजिक न्याय र शान्ति सुरक्षा कायम गर्ने विषयलाई विशेष जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको छ”, उनले भने ।
सबैको साझा प्रयासबाट कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले नीति तथा कार्यक्रमको सफल कार्यान्वयन सम्भव भएको बताए । नीति तथा कार्यक्रममा राष्ट्रिय आकाङ्क्षा स्पष्टरुपमा प्रतिविम्बित भएका उनको भनाइ छ ।


प्रतिक्रिया