
श्रेणी : प्रदेश
काठमाडौं,२८ वैशाख । संघीय संसद्को आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रममाथि दर्ता गरिएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए। त्यसपछि वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि विस्तृत छलफल भइरहेको छ।
नीति तथा कार्यक्रममाथि हालसम्म एकल र संयुक्त गरी ३७ संशोधन प्रस्ताव दर्ता भइसकेका छन्, जसलाई आजै निर्णयार्थ प्रस्तुत गरिने तयारी छ।
त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
राष्ट्रियसभामा पनि प्रतिनिधिसभासँग मिल्दोजुल्दो कार्यसूची तय गरिएको छ, जसअनुसार प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् र विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव पनि पेश हुनेछ।


प्रतिक्रिया