
श्रेणी : BANNER
बीरगन्ज, ३१ चैत्र । हनुमान जयन्तीको अवसरमा शनिबार बीरगन्जमा आयोजित शोभा यात्राका क्रममा भएको झडपमा संलग्न दोषीलाई प्रमाणका आधारमा कारबाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताएका छन्।
जिल्ला प्रशासन कार्यालयमा आज आयोजित सर्वपक्षीय बैठकमा बोल्दै प्रजिअ अर्यालले, दोषी जेसुकै पृष्ठभूमिका भए पनि प्रमाणसहित कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै उनले भने, “दोषी जो भए पनि कारबाही हुन्छ।”
बैठकमा राजनीतिक दल, धार्मिक संघसंस्था, नागरिक समाज र सुरक्षाकर्मीहरूको सहभागिता थियो। शनिबारको घटनाले धार्मिक सद्भावमा असर पार्न सक्ने भएकाले संयमता अपनाउन सबै पक्षलाई आग्रह गरिएको थियो ।
प्रजिअ अर्यालले भने, “हाम्रो समाज बहुधार्मिक, बहुजातीय र बहुभाषिक छ। यस्तो समाजमा सबै धर्मका चाडपर्वप्रति परस्पर सम्मान जरुरी हुन्छ। सम्प्रदायिकता फैलाउने कुनै पनि कार्य राज्यले सहन सक्दैन।”
घटनामा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पहल भइरहेको जानकारी दिँदै अर्यालले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको बताए ।
बैठक अझै पनि चलिरहेको छ ।हिन्दू संघसंस्थाका प्रतिनिधिहरूले हरेक वर्ष हिन्दू समुदायको शोभायात्रा लक्षित हुने प्रयास भएको भन्दै निष्पक्ष छानबिन नभए परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
बैठकलाई सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (लाइभ) गरिएको विषयमा पनि विवाद उठेको छ। सहभागीमध्ये एकजनाले “समूहगत छलफलभन्दा पहिले व्यक्तिगत तहमा स्पष्ट कुरा गर्नु आवश्यक थियो,” भन्दै बैठक निष्कर्षमा पुग्न नसकेको बताएका छन्।


प्रतिक्रिया