
श्रेणी : प्रदेश
काठमाडौं,१२ वैशाख । सरकारले निर्णय गरिसकेको आवासीय चिकित्सकहरूको निर्वाह भत्ता अझै कार्यान्वयनमा नआएपछि नेपाल चिकित्सक संघ (एनएमए) ले थप आन्दोलनको घोषणा गरेको छ। संघले आजदेखि देशभरका सबै स्वास्थ्य संस्था—सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिक र प्रतिष्ठानहरू बन्द गरेर आन्दोलित चिकित्सकहरूप्रति ऐक्यबद्धता जनाउने बताएको छ।
बिहीबार माइतीघर मण्डलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल र आन्दोलनरत चिकित्सकबीच भएको वार्ता निष्कर्षविहीन भएपछि संघले थप आक्रोश व्यक्त गर्दै देशव्यापी स्वास्थ्य संस्था बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो।
संघले शुक्रबार केन्द्रमा मन्त्रालय घेराउ र जिल्ला स्तरमा प्रशासन कार्यालय घेराउ कार्यक्रमलाई पनि निरन्तरता दिने जनाएको छ। यसअघि नै संघले २४ घण्टाभित्र माग सम्बोधन नभए आकस्मिक र सघन सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिइसकेको थियो।
माघ २५ गते चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारी आठौं तहसरह ४८ हजार रुपैयाँ मासिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर, दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि मेडिकल कलेज सञ्चालकहरूले उक्त निर्णय कार्यान्वयन नगरेको संघको आरोप छ।
तीन हप्तादेखि निरन्तर आन्दोलनमा रहेका आवासीय चिकित्सकहरूले आफूहरूको श्रमको सम्मान र भत्ताको सुनिश्चितताका लागि सडक आन्दोलनलाई अन्तिम विकल्पका रूपमा लिएको बताएका छन्।
संघको यो निर्णयले देशभरको स्वास्थ्य सेवा थप अस्तव्यस्त बन्ने संकेत देखिएको छ। अब सरकार र सम्बन्धित निकायको तर्फबाट ठोस पहल नभए स्वास्थ्य संकट गहिरिन सक्ने चिन्ता व्यक्त गरिँदैछ।


प्रतिक्रिया