श्रेणी : BANNER
वीरगंज (पर्सा), १५ फागुन । पर्सा जिल्लामा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न गराउने तयारीस्वरूप शुक्रबारदेखि मदिराजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्सा ले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म मदिराको उत्पादन, ढुवानी, बिक्री–वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको जनाएको छ।
सुरक्षा संवेदनशीलता मूल्यांकनपछि निर्णय
प्रशासनका अनुसार चुनावी अवधिमा मदिरा सेवनका कारण झैझगडा, अवाञ्छित गतिविधि तथा शान्ति सुरक्षामा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले गृह मन्त्रालयको निर्देशन र निर्वाचन आयोग को मापदण्डअनुसार जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरिएको जानकारी दिए। उनका अनुसार निर्वाचन अवधिभर सुरक्षालाई कडाइका साथ कार्यान्वयन गर्न मदिरा नियन्त्रण आवश्यक ठहरिएको हो।
“स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो,” उनले भने, “त्यसैले निर्णय आजदेखि लागू भई अन्तिम परिणाम घोषणा नभएसम्म कायम रहनेछ।”
होटल, रेस्टुरेन्ट र भट्टीलाई निर्देशन
प्रशासनले जिल्लाभरका होटल, रेस्टुरेन्ट, किराना पसल तथा भट्टी सञ्चालकलाई मदिराजन्य वस्तुको कारोबार नगर्न औपचारिक सूचना जारी गरेको छ। आदेश उल्लंघन गरी उत्पादन, बिक्री वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
उल्लङ्घन गर्ने व्यक्ति वा समूहलाई नियन्त्रणमा लिई जरिवाना तथा कानुनी प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको प्रशासनले स्पष्ट पारेको छ।
सीमाक्षेत्रमा विशेष निगरानी
निर्वाचन अवधिभर सम्भावित अवैध गतिविधि रोक्न सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ। विशेषगरी सीमावर्ती नाकाहरूमा अवैध मदिरा ओसारपसार रोक्न निगरानी बढाइएको बताइएको छ।
जिल्ला प्रशासनले सम्पूर्ण व्यवसायी, सरोकारवाला तथा सर्वसाधारणलाई नियमको पालना गर्दै शान्तिपूर्ण निर्वाचनमा सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया