वीरगन्ज :

नारा होइन कामको राजनीति: पटेर्वा सुगौलीमा रूपेश पाण्डेको पक्षमा बढ्दो जनलहर

श्रेणी : BANNER

3 days
Pradeep Sah
2.0kViews
1085 Shares

वीरगञ्ज। पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनसमर्थन तीव्र रूपमा बढ्दै गएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा देखिएको उत्साह, सहभागिता र जनआकांक्षाले पर्सा–३ मा राजनीतिक परिवर्तन अब अपरिहार्य बन्दै गएको स्पष्ट संकेत दिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले पर्सा–३ मा यसपटक परिवर्तन सुनिश्चित भएको दाबी गरे। उनले विकास, सुशासन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर एमाले स्पष्ट कार्यदिशासहित अघि बढिरहेको उल्लेख गर्दै मधेसको समग्र विकासका लागि एमालेको नेतृत्व विकल्प नभई आवश्यकता भएको बताए। “अब भाषण होइन, परिणाम देखिने राजनीति चाहिएको छ,” भन्दै उनले जनताले सक्षम र ऊर्जावान नेतृत्व खोजिरहेको धारणा राखे।
अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्सा–३ को दीर्घकालीन विकासलाई केन्द्रमा राखेर आफ्नो स्पष्ट चुनावी दृष्टिकोण प्रस्तुत गरे। उनले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा युवाको रोजगारीलाई प्राथमिकतामा राख्दै क्षेत्रलाई आत्मनिर्भर र अवसरयुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। “नाराको राजनीति होइन, काम र नतिजाको राजनीति गर्ने समय आएको छ,” भन्दै पाण्डेले जनताको भरोसालाई व्यवहारिक विकासमा रूपान्तरण गर्ने संकल्प दोहोर्‍याए।
नेकपा एमाले पटेर्वा सुगौली गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता तथा उपमहासचिव योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, केन्द्रीय सल्लाहकार परिषद सदस्य अरबिन्द सिंह, मधेस प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादव, प्रदेश कमिटी सदस्यहरू, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाशलगायतका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले राष्ट्रियता, राजनीतिक स्थिरता र समृद्ध नेपाल निर्माणका लागि नेकपा एमालेको बलियो नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गर्दै पर्सा–३ बाट ऊर्जाशील, विकासप्रेमी र परिवर्तनको संवाहक उम्मेदवारका रूपमा रूपेश कुमार पाण्डेलाई विजयी गराउन मतदातालाई आह्वान गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *