वीरगन्ज :

नारायणी अस्पताल भवन निर्माणमा भ्रष्टाचार आरोप ९ जना विरुद्ध मुद्दा दायर

श्रेणी : BANNER

6 months
Pradeep Sah
2.8kViews
1113 Shares

बीरगन्ज,२१ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा १ करोड ८४ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले आइतबार दायर गरेको आरोपपत्रमा अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. संजय कुमार ठाकुर, शहरी विकास तथा भवन कार्यालय पर्साका तत्कालीन निमित्त प्रमुख इन्जिनियर राजेन्द्र साह, इन्जिनियर सकुर अन्सारी, अस्पतालका तत्कालीन नायब सुब्बा शुशिलप्रसाद यादव, लेखापाल सुदिप कुमार माझी, मूल्याङ्कन समिति संयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक जगत बुढा, र लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा रहेका छन्।

त्यस्तै, लुम्बिनी मिसन जेभी नामक निर्माण कम्पनीलाई पनि विपक्षी बनाइएको छ।

आरोपपत्रअनुसार, आकस्मिक कक्ष भवनको निर्माणमा इन्टरलक ब्लक बिछ्याउने कार्यलाई मुख्य निर्माण कार्यको रूपमा देखाएर अन्य प्रतिस्पर्धी ठेकेदारलाई अस्वीकृत गरिएको थियो। एम-३५ स्तरको इन्टरलक टायललाई ठेक्कामा मुख्य आइटमका रूपमा राखी प्रक्रियामा मनोमानी गरिएको आरोप लगाइएको छ।

सार्वजनिक खरिद ऐन र नियमविपरीत निर्माण कार्यमा मिलेमतो गर्दै राज्यलाई आर्थिक नोक्सानी पुर्‍याएको भन्दै आरोपितहरूमाथि १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *