
श्रेणी : मधेस
वीरगन्ज,२५ माघ । नारायणी अस्पतालमा निर्माण गर्नुपर्ने पाँच सय शैयाको भवन प्रक्रियामा ढिलाइ भएको भन्दै जनमत पार्टीले वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन गरेको छ ।
शुक्रबार प्लेकार्डसहित गरिएको प्रदर्शनका क्रममा केहीबेर सडक अवरुद्ध भएपछि प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई हटाएको थियो ।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले सरकार र न्यायालय दुबै पक्षले वीरगन्जको स्वास्थ्य पूर्वाधारप्रति विभेद गरेको आरोप लगाए। उनले माघ २८ गतेको सर्वोच्च अदालतको पेसीमा मुद्दा छिनोफानो नभए वीरगन्जमा बन्द-हड्तालको चेतावनी दिए ।
सरकारले आर्थिक वर्ष २०७५/७६ मा नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ५५० शैयाको भवनका लागि बजेट निकासा गरेको थियो। तर शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबीचको विवाद सर्वोच्च अदालतमा विचाराधीन हुँदा निर्माण प्रक्रिया पाँच वर्षदेखि अलपत्र छ ।
यसअघि माघ १८ गते नारायणी अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले पनि भवन निर्माण प्रक्रियामा ढिलाइविरुद्ध सडक अवरुद्ध गर्दै न्यायलयलाई छिटो निर्णय लिन आग्रह गरेका थिए ।

प्रतिक्रिया