श्रेणी : मधेस
बीरगन्ज,२३ पुस । बीरगन्जस्थित नारायणी अस्पतालका विभिन्न विभागमा प्रयोग हुने ६० वटा मेडिकल उपकरणको सफल मर्मत गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्रको पहलमा आईसीयु, सीसीयु, रेडियोलोजी, डायलासिस, एनआईसीयु, र अपरेशन थिएटरमा प्रयोग हुने यस्ता उपकरणहरूको मर्मत गरिएको हो।
अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताका अनुसार मर्मत गरिएका ६० उपकरणमध्ये ३२ वटा मेशीन बिना कुनै नयाँ स्पेयर पार्टसको प्रयोग मर्मत गरिएको छ। लामो समयदेखि बिग्रेर थन्किएका उपकरणलाई पुनः प्रयोगमा ल्याउन आविष्कार केन्द्रसँग अस्पताल विकास समितिले पुष ११ गते सम्झौता गरेको थियो।
सम्झौतापछि एक साताभित्रै केन्द्रले ती उपकरणहरूको मर्मत पूरा गरेर सेवा पुनर्स्थापित गरेको गुप्ताले जानकारी दिए। उनले मर्मत कार्यले अस्पतालका विभिन्न वार्डहरू, विशेषगरी आईसीयु, सीसीयु, र रेडियोलोजी विभागमा बिरामीको उपचार प्रक्रियालाई सहज बनाएको र सेवा प्रवाहलाई प्रभावकारी बनाएको बताए।
“राष्ट्रिय आविष्कार केन्द्रको सहयोगले अस्पतालको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने अपेक्षा छ। यसले बिरामीहरूको जीवन रक्षा र उपचार प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्याएको छ,” गुप्ताले भने।
राष्ट्रिय आविष्कार केन्द्रलाई धन्यवाद दिँदै उनले भविष्यमा पनि यस्ता सहयोगात्मक प्रयासले अस्पतालको सेवा स्तर उकास्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया