
श्रेणी : BANNER
वीरगन्ज,३१ असार । वीरगन्जस्थित नारायणी अस्पतालमा समाचार संकलनका लागि पुगेका पत्रकार आविद हुसैनमाथि भएको दुर्व्यवहार र आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले पत्रकारमाथि भएको यो कार्यलाई प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथिको सिधा हमला भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारकर्मीले आम नागरिकलाई सत्य सूचना दिन गर्ने कार्यमा रहेका बेला चिकित्सकहरूको संलग्नतामा उनीमाथि समाचार संकलनमा अवरोध सिर्जना हुनु दुर्भाग्यपूर्ण हो।’ शनिबार राति अस्पतालमा बिरामी मनिष सिंह कुर्मीमाथि भएको लापरबाही र दुर्व्यवहारको खबर संकलन गर्न पुगेका पत्रकार हुसैनमाथि अस्पतालकै मेडिकल अफिसर डा. दीपक चौरसियाले हातपात गरेको, मोबाइल खोसेर पाँच घण्टासम्म नियन्त्रणमा लिएको र खिचिएको भिडियो जबरजस्ती मेटाएको आरोप छ ।
महासंघले पत्रकारको मोबाइल खोसिनु र खिचिएको भिडियो जबरजस्ती मेटिनुलाई ‘अत्यन्त आपत्तिजनक र लोकतान्त्रिक मूल्यविपरीतको कार्य’ भनेको छ । विज्ञप्तिमा थप भनिएको छ, ‘पछिल्लो समय पत्रकारमाथि बढ्दो दुर्व्यवहार र आक्रमणका घटनाहरूले सम्पूर्ण पत्रकारिता क्षेत्रलाई नै असुरक्षित बनाउँदै लगेको गम्भीर सन्देश दिइरहेका छन्।’
नेपाल पत्रकार महासंघ, पर्सा शाखाले पत्रकार आविद हुसैनमाथि भएको दुर्व्यवहारप्रति कडा निन्दा प्रकट गर्दै सम्बन्धित निकायहरूलाई पत्रकार सुरक्षाप्रति गम्भीर र संवेदनशील बन्न आग्रह गरेको छ । महासंघले नारायणी अस्पतालमा भएको उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकार तथा प्रशासनसँग जोडदार माग राखेको छ ।
महासंघले पत्रकारको आवाज दबाउने, प्रमाण नष्ट गर्ने र सुरक्षामा हमला गर्ने जस्ता कार्यहरू सह्य नहुने चेतावनीसमेत दिएको छ । पत्रकार महासंघले यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेपका रूपमा लिएको छ र पत्रकारहरूलाई निर्वाध रूपमा सूचना संकलन तथा सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न माग गरेको छ । यस घटनाको पूर्ण छानबिन र दोषीमाथि हदैसम्मको कारबाही गर्न महासंघको माग छ ।


प्रतिक्रिया