
श्रेणी : मधेस
बीरगन्ज,०७ साउन । बीरगन्जको नारायणी अस्पतालमा तीन सातादेखि रेबिजविरुद्धको निःशुल्क खोप अभाव भएको छ। खोप नहुँदा उपचारका लागि आउने सेवाग्राहीहरू हैरान भएका छन्।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, रेबिजको खोप केन्द्र सरकारले प्रदेशमा पठाउने र प्रदेशमार्फत अस्पतालहरूमा आउने व्यवस्था भए पनि केन्द्रबाट नै खोप नआएको कारण नारायणी अस्पतालमा खोप दिन नसकिएको बताए।
खोप अभाव पर्सा जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा पनि देखिएको छ। नारायणी अस्पतालले प्रदेश आपूर्ति शाखा र केन्द्रसम्म पत्र पठाएर खोपको अभावबारे जानकारी गराइसकेको छ।
हाल अस्पतालमा दैनिक १०–१५ जना रेबिजको खोप लगाउन आउने गरेका छन्। तर, खोप नभएकाले सेवाग्राहीलाई बाहिरबाट किनेर ल्याउन सिफारिस गर्नुपरेको डा. सिंहले जानकारी दिए। सेवाग्राहीहरूलाई जानकारीका लागि अस्पतालमा सूचना पनि टाँस गरिएको छ।
डा. सिंहले साउन महिनाभित्रै खोप आपूर्ति हुने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया