वीरगन्ज,०८ फाल्गुन । वीरगन्जस्थित नारायणी अस्पताल चिकित्सक तथा स्वास्थ्यकर्मी अभावको समस्यामा परिरहेको छ। अस्पतालमा कार्यरत १६ जना चिकित्सकसहित ३४ जना स्वास्थ्यकर्मी विभिन्न सरकारी अस्पतालहरूमा काजमा खटिएका छन्। स्वास्थ्य मन्त्रालयले उनीहरूलाई फिर्ता बोलाउन आनाकानी गरिरहेको अस्पताल प्रशासनले जनाएको छ।
बिरामीहरूको चाप बढ्दै गए पनि आवश्यक विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। रेडियोलोजी विभाग चिकित्सकविहीन बनेको छ, किनभने रेडियोलोजिस्ट डा. पुष्पराज अधिकारी बिरामी बिदामा छन् भने अर्का रेडियोलोजिस्ट डा. दिवस सापकोटा भरतपुर अस्पतालमा काजमा रहेका छन्। एनेस्थेसियोलोजिस्ट डा. मञ्जु महर्जन परोपकार प्रसूति अस्पतालमा काजमा रहेकाले नारायणी अस्पतालमा सहायकहरूकै भरमा बेहोस गराएर शल्यक्रिया गरिँदै आएको छ।
त्यस्तै, अन्य विभिन्न विशेषज्ञ चिकित्सकहरू पनि काजमा छन्। ग्यास्ट्रोलोजिस्ट डा. अरुण ज्ञवाली लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा, नेफ्रोलोजिस्ट डा. नीरज ढकाल वीर अस्पतालमा, डेन्टल सर्जन डा. वर्षा थापा लुम्बिनी प्रदेशमा, छालारोग विशेषज्ञ डा. आनन्द नेपाल पोखरा क्षेत्रीय अस्पतालमा, र अर्थोपेडिक सर्जन डा. भरतबहादुर खत्री अज्ञात स्थानमा कार्यरत छन्।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार, चिकित्सक अभाव पूर्ति गर्न दुई पटक आवेदन आह्वान गरिएको थियो, तर कसैले चासो देखाएका छैनन्। उनले स्वास्थ्य मन्त्रालय र स्थानीय जनप्रतिनिधिहरूलाई तत्काल समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
चिकित्सक अभावकै कारण बिरामीहरू समयमै स्वास्थ्य सेवा पाउनबाट वञ्चित भइरहेका छन्। अस्पताल प्रशासनले काजमा गएका चिकित्सकहरूलाई यथाशीघ्र फिर्ता पठाउन आग्रह गरे पनि अहिलेसम्म मन्त्रालयबाट कुनै ठोस निर्णय नआएको गुनासो गरेको छ।
प्रतिक्रिया