
श्रेणी : BANNER
बीरगन्ज,२६ माघ । नारायणी अस्पतालको बहुप्रतीक्षित ५०० सय शय्याको भवन निर्माण प्रक्रिया तत्काल अघि बढाउन माग गर्दै बीरगन्जका नागरिकहरूले शनिवार दबाब र्यालीको आयोजना गरेका छन्।
अस्पताल परिसरबाट सुरु भएको र्यालीमा नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी र सर्वसाधारणको व्यापक सहभागिता थियो। नगरका विभिन्न स्थान हुँदै घण्टाघरमा कोणसभामा परिणत भएको र्यालीमा सहभागीहरूले निर्माण प्रक्रिया झन्डै पाँच वर्षदेखि अलपत्र परेको भन्दै तत्काल अघि बढाउन सरकार र अदालतलाई आग्रह गरे।
कोणसभालाई सम्बोधन गर्दै बीरगन्जका पूर्व मेयर विजयकुमार सरावगीले अस्पताल निर्माण आउने पुस्ताको लागि आवश्यक रहेको बताए। पूर्व प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले सबै नागरिकलाई एकजुट भएर पहल गर्न आह्वान गरे।
नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले अस्पताल निर्माण रोकिएको पाँच वर्ष बितिसकेको अन्यायपूर्ण अवस्थाको अन्त्य गर्न सरकार र अदालतलाई गम्भीर बन्न अनुरोध गरे। उनले आवश्यकता परे आमरण अनसन गर्ने चेतावनीसमेत दिए।
यसअघि माघ १८ गते चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले पनि भवन निर्माण सम्बन्धी मुद्दाको छिटो टुंगो लगाउन माग गर्दै सडक अवरोध गरेका थिए। जनमत पार्टीले पनि घण्टाघर अगाडि चक्का जाम गर्दै नाराबाजी गरेको थियो।
सरकारले २०७४ सालमा नारायणी अस्पताललाई पाँच सय शय्याको केन्द्रीय अस्पताल घोषणा गर्दै भवन निर्माणका लागि २०७५ चैत १८ गते १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार ७५ रुपैयाँ बजेट विनियोजन गरेको थियो। सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र आह्वान गर्दा २०७६ जेठ २ गते बङ्गलादेशको एनडिइरभ्याली कन्स्ट्रक्सन प्रालि (VCPL) र नेपालकै नेसनल डेभलपमेन्ट इञ्जिनियरिङ (SSNC) मात्र प्रतिस्पर्धामा थिए।
तर सार्वजनिक खरिद नियमावली २०७५ को नियम ३१ (ङ) अनुसार स्वदेशी बोलपत्रदाताबीच मात्रै प्रतिस्पर्धा गराउनुपर्ने प्रावधानले उक्त बोलपत्र रद्द गरियो। त्यसपछि ठेकेदार कम्पनी र विभागबीचको विवाद उच्च अदालत जनकपुर वीरगञ्जको अस्थायी इजलासमा पुग्यो। अदालतले पुनः अर्को बोलपत्र आह्वान गर्न परमादेश दिएपछि २०७६ फागुन १ मा विभागले दोस्रो पटक बोलपत्र आह्वान गर्यो।
तर दोस्रो बोलपत्र प्रक्रियामा बैंक भौचरमा नाम फरक पर्ने त्रुटिका कारण ठेकेदारको बोलपत्र पुनः बदर गरियो। त्यसपछि विवाद सर्वोच्च अदालतमा पुग्यो, जहाँ अहिलेसम्म पनि मुद्दा विचाराधीन छ। अदालतमा पटक-पटक पेशी सर्दै आएको तर एक पटक पनि बहस नहुँदा भवन निर्माण कार्य अन्योलमै छ। सर्वोच्च अदालतमा यो मुद्दाको अर्को पेशी माघ २८ गते तोकिएको छ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार पाँच वर्षदेखि भवन निर्माण रोकिँदा अस्पताल सेवामा गम्भीर समस्या उत्पन्न भएको छ।

प्रतिक्रिया