वीरगन्ज :

नागरिकको अपेक्षा केन्द्रमा राखेर अघि बढिरहेका छौं : मन्त्री यादव

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.1kViews
1160 Shares

काठमाडौं,१९ वैशाख । खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले आम नागरिकका लागि शुद्ध खानेपानी अब केवल सपना नभई व्यवहारमा लागू हुने अधिकारको रुपमा स्थापित हुन थालेको बताएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ र ६ मा सम्पन्न ‘नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना’ उद्घाटन गर्दै मन्त्री यादवले सरकारको मुख्य प्राथमिकता ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियान रहेको उल्लेख गरे।

उनका अनुसार देशका दुर्गम गाउँदेखि सहरसम्म स्वच्छ र सुरक्षित खानेपानी सेवा पु-याउने दीर्घकालीन नीति अन्तर्गत नाङ्गेडाँडाको आयोजना एउटा महत्वपूर्ण उपलब्धि हो। “सरकार नागरिकको अपेक्षा केन्द्रमा राखेर अघि बढिरहेको छ,” मन्त्री यादवले भने, “संघीय सरकार, स्थानीय तह र जनताको सहकार्यले यस्तो उपलब्धि सम्भव भएको हो।”

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार आयोजनाको निर्माणका लागि २०७९ साल असार ९ गते सम्झौता गरिएको थियो, जसअनुसार २०८२ असार ८ भित्र कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्मको कार्य प्रगति र आवश्यक संशोधनपछि आयोजनाको कुल लागत ३७ करोड ९४ लाख ९० हजार ५२४ रुपैयाँ पुगेको उनले जानकारी दिए।

संघीय आयोजना प्रमुख इञ्जिनियर हेराकाजी मर्हजनले यो योजनाबाट २,५३५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने बताएका छन्। उनका अनुसार प्रत्येक घरमा शुद्ध र सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ।

सिन्धुली क्षेत्र नं. २ का सांसद लेखनाथ दाहाल, गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल र उपाध्यक्ष कपिलकुमार कोइरालाले योजनाले स्थानीय बासिन्दाको खानेपानी समस्या समाधान गर्ने विश्वास व्यक्त गरे। खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले आगामी दिनमा अझ पहुँचयुक्त र जनमैत्री सेवा विस्तार गरिने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा वडाध्यक्षहरू सुरतकुमार वस्याल, महेन्द्रबहादुर थापा, स्थानीय नेताहरू तथा बासिन्दाहरूको उल्लेख्य उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *