वीरगन्ज :

नगरपालिकाद्वारा किसानको सिँचाइ मिटर महसुल तिर्दा कृषक हर्षित

श्रेणी : अर्थ

2 weeks
Pradeep Sah
2.8kViews
1401 Shares

रौतहट, ३१ जेठ । रौतहटको परोहा नगरपालिकाले कृषकहरूको सिँचाइ मिटरको विद्युत् महसुल तिरेपछि किसानहरू हर्षित भएका छन्। आर्थिक अभावका कारण महसुल तिर्न नसकेका किसानलाई नगरपालिकाले राहत दिएपछि उनीहरूमा स्थानिय सरकारप्रति विश्वास बढेको देखिएको छ।

परोहा–१, जिङ्गडवा बेलबिछ्वाकी शारदा देवी भन्छिन्, “हामी जस्ता साना किसानका लागि यो ठूलो सहयोग हो। महसुल तिर्न नसकेर लाइन काटिने डर थियो, तर नगरपालिकाले हामीलाई साथ दियो।”

त्यस्तै परोहा–२, रामपुर खापकी जहिदा खातुनले महिनौँदेखि बक्यौता तिर्न नसकेको भन्दै विद्युत् प्राधिकरणद्वारा लाइन काटिने त्रास रहेको बेला पालिकाले महसुल बुझाइदिएर थोरै भए पनि राहत मिलेको बताइन्।

नगरपालिकाले गौर वितरण केन्द्रलाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै ९९४ जना किसानको २०८१ मंसिरसम्मको बक्यौता तिरेको हो। प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज अहमदका अनुसार सबै किसानलाई निःशुल्क सिँचाइ मिटर र सेवा उपलब्ध गराइएको छ।

नगरप्रमुख शेख वकिलले चुनावी प्रतिबद्धता अनुसार कृषि क्षेत्रलाई प्राथमिकता दिँदै महसुल तिर्ने निर्णय गरिएको बताए। “सिर्फ महसुल तिर्ने मात्र होइन, सिँचाइ र घरायसी मिटर जडानमा लाग्ने राजस्व पनि नगरपालिकाले बेहोर्नेछ,” उनले भने।

उनले विद्युत् मिटर नजोडी अवैध ‘हुकिंग’ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न मिटर जडानलाई प्रोत्साहन गरिएको स्पष्ट पारे।

नगरप्रमुख वकिलले कृषि पेशा अपनाउने इच्छुक बासिन्दालाई निःशुल्क मिटर र विद्युत् सेवा लिन नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेका छन्। साथै, कृषि आधुनिकीकरण, उपकरण आपूर्ति र उत्पादनको बजारीकरणका लागि नगरपालिकाले आवश्यक तयारी गरिरहेको जानकारी पनि दिए।

परोहा नगरपालिकाले कृषकमैत्री पालिका निर्माणमा आफू समर्पित रहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *