वीरगन्ज :

नक्कली विद्यार्थी देखाएर छात्रवृत्ति र खाजाको रकम दुरुपयोग

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
1.7kViews
1307 Shares

जनकपुर,३० वैशाख । विद्यालय शिक्षामा बढ्दो बेथिति र गुणस्तरमा देखिएको कमजोरीलाई मध्यनजर गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय अनुगमन सुरु गरेका छन्। मंगलबार उनले धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालयको अनुगमन गरे।

मुख्यमन्त्री सिंहले वडा नम्बर २ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडामा अनुगमन गर्दा केही विद्यार्थीको नाम सरकारी विद्यालयमा रहेको तर वास्तवमा ती निजी विद्यालयमा पढ्दै आएको खुलासा भयो। यस्ता नक्कली नाम प्रयोग गरेर विद्यालयले छात्रवृत्ति र खाजाका लागि आउने सरकारी रकम प्रयोग गर्दै आएको भेटिएको छ।

शिक्षाविद् गुरु सुवेदीले यसलाई “प्रत्यक्ष भ्रष्टाचार” भन्दै कडा आलोचना गरे। उनले नक्कली विद्यार्थी विवरण राखेर रकम निकाल्नु आपराधिक कार्य भएको र सम्बन्धित शिक्षक तथा कर्मचारीलाई कारबाही गर्नुपर्ने बताए।

मुख्यमन्त्री सिंहले पनि यस विषयलाई गम्भीर रूपमा लिएर प्रदेश शिक्षा निर्देशक महेन्द्र महतो मार्फत सम्बन्धित निकायलाई पत्राचार गर्न निर्देशन दिएका छन्। उनका अनुसार नक्कली विवरण देखाएर विद्यालयले सुविधा मात्र होइन, पूर्वाधार विकासका लागि समेत रकम जुटाइरहेका छन्, जसले सरकारको स्रोत दुरुपयोग भइरहेको देखाउँछ।

त्यसैगरी, उनले वडा नम्बर ८ स्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको पनि अनुगमन गरे, जहाँ शौचालय नै नभएको पाइएको थियो। उनले नगरपालिकाकी उपप्रमुख दुर्गीदेवी मण्डललाई तुरुन्त शौचालय निर्माणको लागि पहल गर्न आग्रह गरे। उपप्रमुख मण्डलले शौचालय निर्माणका लागि बजेट निकासा भइसकेको र यो वर्षभित्र निर्माण सम्पन्न हुने जानकारी दिइन्।

एक महिनाअघि नै प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले १३६ वटा पालिकालाई पत्र पठाएर सामुदायिक विद्यालयको शिक्षण सुधार गर्न आग्रह गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *