
श्रेणी : समाचार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्तविरुद्ध थुनछेक बहस सुरु हुँदैछ । शुक्रबारसम्म १८ जनासँग बयान लिएपछि आजदेखि जिल्ला अदालत काठमाडौमा थुनछेक बहस सुरु हुन लागेको हो ।
थुनछेक बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । सरकारी वकिलको पक्षबाट बहसको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले गर्नेछन् ।
सरकारी वकिलले बहस सकेपछि प्रतिवादीकातर्फबाट वकिलले बहस गर्नेछन् । प्रतिवादीका अधिवक्ताले गरेको बहसपछि जवाफी बहस गर्न आवश्यक देखिएमा सरकारी वकिलका तर्फबाट जवाफी बहस पनि हुनेछ ।
दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछन् ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ र फरार गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, सङ्गठित अपराध, कीर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही मागदाबीसहित जेठ १० गते मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया