
श्रेणी : प्रदेश
काठमाडौँ,०८ माघ । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानी समस्या समाधानका लागि हरसम्भव प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्।
धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग मंगलबार आफ्नै कार्यकक्षमा भएको छलफलका क्रममा मन्त्री यादवले समस्या समाधानका लागि एकीकृत खानेपानी योजनामा यो वर्ष नै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए।
उनले भने, “जग्गा प्राप्तिको सुनिश्चितता धरान उपमहानगरपालिकाले गर्नुपर्छ। योजना छनोट भइसकेको छ, दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान गर्नेछौँ।”
धरानमा लामो समयदेखि रहेको खानेपानीको समस्या उपमहानगरपालिकाले आफ्नो सीमित बजेटभित्र सकेजति समाधान गरे पनि थप सहयोग आवश्यक रहेको भन्दै प्रमुख राईले मन्त्री यादवसँग सहयोगको आग्रह गरेका थिए।
मन्त्री यादवको निजी सचिवालयका अनुसार खानेपानी समस्या समाधानका लागि सरकार तत्पर रहेको र यसलाई दीर्घकालीन रूपमा समाधान गर्न कदम चाल्ने योजना बनाइएको छ।

प्रतिक्रिया