
श्रेणी : अपराध
जनकपुर, १० चैत्र । धनुषामा ससुराली हिँडेका एक युवकको अपहरणपछि विभत्स हत्या भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८, दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको शव महोत्तरीको गौशाला नगरपालिका-८ स्थित सागरनाथ वनमा भेटिएको छ ।
शव शुक्रबार साँझ साढे ५ बजे रेलवे ट्र्याकभन्दा करिब १०० मिटर दक्षिणतर्फ फेला परेको थियो । तर, उनको पहिचान भने शनिबार मात्र खुलेको हो।
महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार घटनास्थलको अवस्था हेर्दा हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ। “शव र घटनास्थलको प्रकृति हेर्दा यो हत्या भएको हुनसक्छ। यद्यपि विस्तृत अनुसन्धानपछि मात्रै यथार्थ खुल्नेछ,” उनले भने ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार शिवशंकरको शव नग्न अवस्थामा थियो। उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरिएको थियो भने मुखमा आगो लगाइएको जस्तो देखिन्छ ।
बिहीबार दिउँसो शिवशंकर श्रीमती सृजना र १० महिने छोरासहित ससुराली जान घरबाट निस्किएका थिए। परिवारका अनुसार उनीहरू मोटरसाइकलमा महेन्द्रनगरसम्म पुगेका थिए। त्यहाँबाट श्रीमतीले माइतबाट दुईवटा मोटरसाइकल बोलाएकी थिइन्। एउटा मोटरसाइकलमा सृजना आफ्ना छोरासहित चढेकी थिइन् भने अर्कामा शिवशंकर ।
परिवारका सदस्यहरू ससुराली पुगेको विश्वास गरिरहेका थिए। तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट शिवशंकरको घरमा फोन आएपछि मात्र उनी गन्तव्यसम्म नपुगी हत्या भइसकेको थाहा भयो ।
मृतकका भाइ राम महतोका अनुसार केही दिनअघि ससुराली पक्षसँग विवाद हुँदा शिवशंकर कुटपिटको शिकार भएका थिए। त्यसलगत्तै उनी श्रीमती र छोरासहित माइतीबाट फर्किएका थिए। त्यसपछि उनी पुनः ससुराली जान अनिच्छुक थिए ।
तर, श्रीमती सृजनाले ‘हजुरबुबाको मृत्यु भयो’ भनेर उनलाई ससुराली जान बाध्य बनाएको परिवारको दाबी छ ।
“हिजो दिउँसो २ बजेतिर मात्र प्रहरीको फोन आयो। जब महोत्तरी पुगेँ, त्यहाँ दाइको शव देखाइयो। त्यसपछि मात्रै थाहा पाइयो कि उनी ससुराली नपुग्दै मारिएका रहेछन्,” मृतकका भाइ रामले भने ।
यस विभत्स हत्यापछि परिवार शोकमा डुबेको छ । मृतकका भाइ रामले अपराधी पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन् ।”प्रहरीले गहिरो अनुसन्धान गरोस्। दोषी जोसुकै भए पनि उनलाई कानुनी दायरामा ल्याएर कारबाही होस्,” उनले भने ।
घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया