
श्रेणी : मधेस
जनकपुर,०९ वैशाख । धनुषाको शहीदनगर नगरपालिका–५ यदुकोहामा सोमबार साँझ हृदयविदारक घटना घटेको छ। एकै परिवारका तीन बालबालिकाको विष सेवनबाट मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतकमध्ये ६ वर्षीय आदित्य साह, ४ वर्षीया आकृति साह र २ वर्षीया आरुसी साह रहेका छन्। तीनै जना सुशील साहका सन्तान हुन्।
उनकी ३० वर्षीया श्रीमती पविता साह गम्भीर अवस्थामा रहेको र उनको जनकपुरस्थित प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए।
घटना सोमबार साँझ करिब ६:४० बजे घरमै विष सेवन गरेको अवस्थामा फेला परेपछि स्थानीयले चारै जनालाई तत्काल अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याउँदा तीनै बालबालिकाको ज्यान गइसकेको थियो।
प्रहरीलाई राति ८:४५ बजे मात्र खबर प्राप्त भएपछि घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका कारण पविता साहले आफ्ना तीन सन्तानलाई विष सेवन गराएर हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेको आशंका गरिएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान अगाडि बढाइरहेको छ। स्थानीयहरू घटना सुनेपछि स्तब्ध भएका छन्।


प्रतिक्रिया