
श्रेणी : अन्तर्राष्ट्रिय
यूरोपेली सङ्घ (ईयू) ले द्वन्द्वग्रस्त प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई सहयोग पु¥याउन ‘मानवीय सहायता’ पठाउन लागिएको ब्रसेल्सले जनाएको छ ।
हवाई मार्गबाट पुर्याइने यो सहयोग कङ्गोको पूर्वी उत्तरी किवु प्रान्तको राजधानी गोमासँग जोडिनेछ । किवुमा विद्रोही समूह एम–२३ सँगको लडाइँका कारण छ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
युरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा यो अभियानले अन्य आपतकालिन सामग्रीका साथै चिकित्सा र पोषण सामग्रीको रूपमा मानवीय सहायता प्रदान गर्ने उल्लेख छ ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो अफ्रिकी भ्रमणको अन्तिम चरणमा कङ्गोको भ्रमण गर्दै उक्त मुलुकका सबै पक्षले युद्धविरामलाई समर्थन गर्ने बताए ।
अंगोलाका राष्ट्रपति जोआओ लोरेन्को, प्रजातान्त्रिक गणतन्त्र कङ्गोका अध्यक्ष फेलिक्स शिसेकेडी र रुवान्डाका राष्ट्रपति पल कागामेसँगको वार्तामा म्याक्रोँले आगामी मङ्गलबारदेखि हुने युद्धविरामका लागि सबैले स्पष्ट समर्थन गरेको बताए ।
उनका अनुसार इयूले पोषण, स्वास्थ्य सेवा, आवास र पानीजस्ता तात्कालिक आवश्यकताका लागि मानवीय साझेदारहरूमार्फत् परिचालन गर्न करिब चार करोड ७० लाख युरो पनि जारी गरिसकेको छ ।

प्रतिक्रिया