
श्रेणी : खेलकुद
बीरगन्ज,२६ पुस । दोस्रो बीरगन्ज गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी फागुन १७ गतेदेखि बीरगन्जको आदर्शनगर रंगशालामा आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजक भेट्रान्स सिटी क्लब वीरगन्जले जनाएको छ।
यस वर्षको प्रतियोगितामा नेपालका शीर्ष क्लबहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड, संकटा क्लब, सलहेश युवा क्लब, मच्छिन्द्र फुटबल क्लब, वीरगन्ज युनाइटेड, साथै भारतको दिल्लीस्थित गढवाल एफसी गरी कुल ८ टोलीले भाग लिनेछन्।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
बीरगन्ज महानगरपालिकाको सहयोगमा आयोजना हुने यो प्रतियोगिता फुटबलप्रेमीका लागि विशेष आकर्षण हुने अपेक्षा गरिएको छ। भेट्रान्स सिटी क्लबले खेललाई सफल बनाउन सम्पूर्ण तयारी पूरा गर्न लागेको जानकारी दिएको छ।

प्रतिक्रिया