श्रेणी : राष्ट्रिय
दोलखा । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा बिहीबार पुनः मतदान हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको सोमबार बिहान बसेको बैठकले बिहीबार मतदान गराउने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले बिहीबार पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए ।
यसअघि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो । दोलखाका १० वटा केन्द्रमा धाँधली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो ।
टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।
प्रतिक्रिया