
श्रेणी : राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको बताएका छन् ।
लेनिनको १५३ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा सन्देश दिँदै प्रधानमन्त्रीले प्रतिगमनविरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको छ । नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिवद्ध छ । शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रासामु छ । गलत प्रवृत्तिविरूद्ध वामपन्थी, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणामस्वरूप गत वर्ष भएको चुनावबाट वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा गठबन्धनका पक्षमा जनमत प्राप्त भयो । लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको यस ऐतिहासिक अवसरमा म देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गर्दछु ।’


प्रतिक्रिया