
श्रेणी : प्रदेश
काठमाडौँ,१० जेठ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्ने कुरा फेसनजस्तै भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले के भयो र ? के भएको छ र ? भन्ने भाष्य बनाएर प्रजातन्त्रले के ल्यायो ? भन्ने प्रश्न उठाइरहेको बताएका छन् । अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै उनले प्रश्न गरे । संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।
नकारात्मक कुराको प्रचार हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘अहिले एउटा फेसनजस्तै भएको छ— के भयो र ? के भएको छ र ? यो प्रजातन्त्रले के ल्यायो र ? के दियो र ? भन्छन् । त्यो के दियो ? के चित्त बुझेन ? भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भने यही प्रजातान्त्रिक पद्धतिले दिएको हो ।’
उनले थपे, ‘प्राप्त भएको अधिकारलाई सुरक्षित राख्ने जिम्मेवारी कसको हो ? संघर्ष गरेर अधिकार प्राप्त भएको हो । अब ती अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी सबै नागरिकको काँधमा छ । अहिलेको समय खाली नकारात्मक कुरालाई हाई लाइट गर्ने, उपलब्धिलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ ।
प्राप्त उपलब्धिलाई पनि केही होइन भन्ने हो भने के नयाँ प्राप्तिका लागि आवाज उठिरहेको छ त ? यतातिर पनि ध्यान दिनुपर्छ । लामो समयको त्याग, तपस्या र बलिदानबाट अहिलेको प्रणाली ल्याइएको हो ।’
उपप्रधानमन्त्री सिंहले जनताको अधिकार सुरक्षित राख्ने विषयमा सबैले ध्यान दिनुपर्ने पनि बताए ।


प्रतिक्रिया