वीरगन्ज :

देशभर महाशिवरात्रिको उल्लास : शिवालयहरूमा भक्तजनको घुइँचो

श्रेणी : धर्म संस्कृति

4 months
Pradeep Sah
1.9kViews
1575 Shares

वीरगन्ज,१४ फाल्गुन । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि बुधबार (आज) धुमधामका साथ देशभरि मनाइँदै छ ।

भगवान् शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पर्वका रूपमा विभिन्न पुराणमा उल्लेख छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वमा भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् । आजको दिन भक्तजन रातभर जागा रहेर भगवान् शिवको आराधना गर्दै भजन गाउँछन् । महिलाका लागि शिवरात्रिको विशेष महत्त्व छ ।

अविवाहित युवती शिवको प्रार्थना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मङ्गल कामना गर्छन् ।

युवामाझ पनि शिवरात्रिको आफ्नै ‘चार्म’ छ । शिवरात्रि हिउँदको समाप्ति र गर्मीको सुरुवातको सूचक पनि हो । यसको रौनकले गाउँदेखि सहरसम्म, तराईका फाँटदेखि पहाडका उकाली–ओरालीसम्मलाई ढपक्कै छोप्छ । शिवरात्रिको अघिल्लो दिनदेखि पशुपतिनाथ, शिवमन्दिर, शिवालयमा दर्शनार्थीको भिड लाग्ने गर्छ ।

बदलिँदो समयमा यसले आफ्नो मौलिकता गुमाउँदै गएको गुनासो पनि आउने गरेको छ । मादक पदार्थ, गाँजा, भाङ, धतुरो जस्ता वस्तुका सेवनमा शिवरात्रि केन्द्रित देखिँदै आएको छ । यस पर्वमा हुने विकृति र विसङ्गतिबारे आवाज उठ्ने गरे पनि यी समस्याको निराकरणका लागि यथेष्ट पहल हुन सकेको छैन ।

महाशिवरात्रिको अवसरमा वीरगञ्जका अधिकांश शिव मन्दिरहरूमा श्रद्धालुहरूको भिड लागेको छ । वीरगञ्जको ऐतिहासिक तथा प्रसिद्ध अलखियामठ मन्दिर र पशुपाती नाथ मन्दिरमा बिहानैदेखि भक्तहरू लाइन लगाएर पूजा गर्नका निमित्त आफ्नो पालो कुरिरहेका छन् । त्यस्तै पर्सा जिल्लाका अन्य भेगमा रहेका शिव मन्दिरहरूमा पनि भक्तहरूको उपस्थिति उतिकै बाक्लो रहेको छ । विशेषत: पेतेर्वासुगौलीस्थित दुग्देश्वर माहादेव मन्दिरमा भक्तहरू सवेरैदेखि पूजा गर्न पुगेका छन् ।

महाशिवरात्रि पर्वलाई सुरक्षित र मर्यादित बनाउन स्थानीय प्रशासनले नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट सुरक्षा जनशक्ति परिचालन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *