वीरगन्ज :

देशभर आजदेखि एसइई सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.3kViews
1962 Shares

बीरगन्ज,१९ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहीबारदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय(कक्षा १०) का अनुसार बिहान ८:०० बजेदेखि सुरु हुने यस वर्षको परीक्षालाई विगतभन्दा थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ ‘माध्यमिक शिक्षा परीक्षा व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२’ लागू गरिएको छ । चैत २९ गतेसम्म सञ्चालन हुने यस परीक्षामा देशभरका ११ हजार ३७९ विद्यालयका कूल ५ लाख १२ हजार ४२१ परीक्षार्थी सहभागी हुँदैछन्।

सहभागीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी छन् भने छात्र ९२ लाख ५४ हजार ८०१० को तुलनामा छात्रा ९२ लाख ५७ हजार ६१३० को संख्या बढी रहेको छ। नेपालबाहिर जापानको एक परीक्षा केन्द्रबाट पनि २३ जना विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको छ। परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने सुरक्षा र व्यवस्थापनका लागि ठुलो जनशक्ति परिचालन गरिएको छ।

प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्षसहित प्रति २० परीक्षार्थी बराबर एक निरीक्षक र प्रति १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी खटाइएको छ । सातै प्रदेशका लागि आवश्यक प्रश्नपत्रहरू सम्बन्धित केन्द्रमा पुर्‍याइसकिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।

परीक्षामा हुन सक्ने अनियमितता रोक्न र उत्तरपुस्तिकाको सुरक्षा सुनिश्चित गर्न यसपटक विशेष प्रबन्ध गरिएको छ। नयाँ निर्देशिका अनुसार नतिजा प्रकाशनको प्रक्रियालाई निकै छिटोछरितो बनाउने लक्ष्य राखिएको छ। परीक्षा सम्पन्न भएको तीन दिनभित्रै उत्तरपुस्तिका परीक्षण गरिसक्नुपर्ने र ‘मार्कस्लिप’ तयार गरी ‘ट्याब’ मार्फत सिलबन्दी खाममा शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

उत्तरपुस्तिका परीक्षण कार्यलाई सुरक्षित बनाउन सम्भव भएसम्म सिसिटिभी जडान भएका कक्षहरू प्रयोग गरिनेछ भने परीक्षकहरूले परीक्षण स्थलमा मोबाइल वा अन्य विद्युतीय उपकरण लैजान पाउने छैनन् । सम्बन्धित विद्यालयको उत्तरपुस्तिका सोही विद्यालयका शिक्षकले जाँच्न नपाउने गरी परीक्षक र संपरीक्षकको व्यवस्था मिलाइएको छ ।

नतिजा प्रकाशनलाई प्रदेशगत रूपमा समेत गर्न सकिने लचकता निर्देशिकाले प्रदान गरेको छ । यदि कुनै परीक्षकले परीक्षणमा लापरबाही गरेमा पारिश्रमिक कट्टा गर्ने, परीक्षकको सूचीबाट नाम हटाउने वा प्रचलित कानुनबमोजिम विभागीय कारबाही गर्नेसम्मको कठोर प्रावधान राखिएको छ । उत्तरपुस्तिका बाहिर लैजाने वा योग्यता नपुगेका व्यक्तिबाट परीक्षण गराउने जस्ता विगतका कमजोरी दोहोरिन नदिन बोर्डले विशेष निगरानी गर्ने जनाएको छ।

यसपटकको नयाँ व्यवस्थाले परीक्षाको गरिमा बढ्ने र विद्यार्थीहरूले समयमै आफ्नो नतिजा प्राप्त गर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *