श्रेणी : राजनीति
काठमाडौं । कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग मिलेर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुमा त्यसको दोषी पार्टी सभापति शेरबहादुर देउवा रहेको भन्दै पार्टीका नेताहरु देउवामाथि खनिएका छन् । गठबन्धन जोगाउन नसक्नुमा देउवाको दोष रहेको भन्दै पार्टीभित्रैबाट विरोध भएको हो । कांग्रेसका केही केन्द्रीय सदस्यले त देउवालाई पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा नदिए विशेष महाधिवेशन बोलाएर हटाउने चेतावनीसमेत दिएका छन् ।
पार्टी महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको समाचार पढेर चित्त बुझाएको प्रतिक्रिया दिए । लिटरेचर फेस्टिबलमा सहभागी हुन पोखरा पुगेका महामन्त्री थापाले भनेका छन्, ‘मैलै पनि आज पोखरा आएपछि समाचार पढेर चित्त बुझाएँ । अहिले दलको नेता भएको भए खुमलटारबाट बालकोट, बालकोटबाट बालुवाटार भन्दै गर्दा आउनुहुन्छ कि आउनुहुन्न भनेर आत्तिएर बस्नुपथ्र्यो । कम्तीमा ढुक्कले पोखरा, योचाहिँ काठमाडौंको मान्छेको चित्त बुझाउने काइदा हो । यसरी पनि चित्त बुझाउनुपर्छ कहिलेकाहीँ ।’
त्यस्तै कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले देउवालाई पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिन सुझाव दिएका छन् । उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ र हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।राजिनामा नदिए चाडै बिशेष महाधिवेशन बोलाईनेछ।’
त्यस्तै अर्का केन्द्रीय सदस्य नैनसिंह महरले पनि निर्वाचनमा गठबन्धन बनाएर जानु नै गलत भएको भन्दै यसको सबै दोष पार्टी सभापतिले लिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादीको बेईमानी त हामीलाई जानकारी छँदैथियो । हामी केही केन्द्रीय सदस्यहरु गठबन्धन भन्दा एक्लै निर्वाचनमा जानु उत्तम हुन्छ भन्दा पदाधिकारीहरुको गोप्य सहमतिको आधारमा एक जना महामन्त्रीजीले काँग्रेस नेतृत्वमा सरकार बनाउन गठबन्धन नै आवश्यक भएको प्रस्ताव सुनाउनु भो पारित गर्न अनुरोध गरे पश्चात् प्रस्ताव पासभयो । ततपश्चात केन्द्रीय समिति बैठक बिना नै पदाधिकारी र कार्यसम्पादन समिति बैठकको नाममा– काँग्रेस पार्टीको ईतिहासमा १६५ निर्वाचन क्षेत्रमा ७४ सिट छोडेर ९१ सिटमा लड्न काँग्रेसलाई बाध्य पारियो र निर्वाचनको समिक्षा समेत नगरेर सरकार निर्माणको प्रक्रियाका लागि समेत केन्द्रीय समिति वैठक आवश्यक ठानिएन । आज सबै कुरा गुमाउँदा समेत केन्द्रीय समितिको बैठक आवश्यक नठान्ने र बर्षौंसम्म गठबन्धन कायम रहन्छ भनेर हवाला दिने पदाधिकारी र कार्यसम्पादन समितिले वर्तमान जटिल राजनीतिक अवस्थाको जिम्मा लिनुपर्छ ।’
अर्का कांग्रेस नेता मनोजमणि आचार्यले गलत रणनीतिका कारण यो अवस्था आएको बताएका छन् । उनले लेखेका छन्, ‘धोका दिन त माओवादीले रोल्पाबाटै शुरु गरेका थिए। कांग्रेसले पाएको प्रदेश सभामा बिद्रोही लडाएर हराए अर्कोतर्फ पार्टी सभापति तथा संसदीय दलका नेताको सत्ता हठका कारण गठबन्धन टु्ट्यो र पहिलो पार्टी सबैतिर सत्ता बाहिर । गलत रणनीति र मतिका कारण यो नियति हामीले भोग्नु पर्ने कस्तो विडम्बना ?’
प्रतिक्रिया