सर्लाही,२२ चैत । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ता टोलमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएकी ६५ वर्षीया शान्तिदेवी ठाकुरका परिवारले अझैसम्म क्षतिपूर्ति नपाएको गुनासो गरेका छन्।
गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ठाकुरको उपचारका क्रममा वीरगञ्जस्थित न्युरो अस्पतालमा सोही दिन मृत्यु भएको थियो।
दुर्घटनाको दुई महिना बितिसक्दा पनि कानुनअनुसार पाउनुपर्ने राहत नपाएको भन्दै मृतकका कान्छा छोरा सन्जित शर्माले पत्रकार सम्मेलनमार्फत गुनासो गरेका हुन्।
दुर्घटनामा संलग्न चालक, चन्द्रनगर–३ का २० वर्षीय विशाल महतो, जिल्ला अदालत सर्लाहीको आदेशमा एक लाख रुपैयाँ धरौटी बुझाएर हिरासतबाट छुटिसकेका छन्। मृतक परिवारले चालकसँग सवारी चालक अनुमति पत्र नभएको भए पनि प्रहरीले कमजोर मुद्दा चलाएर छिट्टै छुटाउन सहयोग गरेको आरोप लगाएका छन्।
परिवारले घटनास्थलमा तयार गरिएको मुचुल्का र अदालतमा पेश गरिएको विवरणबीच फरक रहेको दाबी गर्दै संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन्।
उता, इलाका प्रहरी कार्यालय केसर गन्जका प्रहरी निरीक्षक नितेशकुमार सिंहले भने मृतक परिवारले पाउने ५ लाख रुपैयाँ क्षतिपूर्ति र ५० हजार रुपैयाँ क्रिया खर्च जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध हुने बताएका छन्।
उनका अनुसार चालकले उक्त रकम धरौटीस्वरूप जम्मा गरिसकेको हुँदा आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा गएर सो रकम लिन परिवारलाई आग्रह गरिएको छ।

प्रतिक्रिया