
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ,१८ चैत । राजावादी आन्दोलनलाई नेतृत्व दिइरहेका विवादित व्यवसायी दुर्गा प्रसाईँ प्रदर्शन हिंसात्मक बनेपछि ठोरी नाका हुँदै भारत फरार भएका छन्। गत चैत १५ गते शुक्रबार काठमाडौँमा भएको राजावादी प्रदर्शन अराजक बनेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरिरहेको थियो। तर, प्रहरी कारबाही अघि बढ्नुअघि नै प्रसाईँ काठमाडौँ छोडेर भारत प्रवेश गरेको उच्च स्रोतले जनाएको छ।
प्रदर्शनका क्रममा दुई जनाको मृत्यु, सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी, निजी घरमा क्षति र भाटभटेनी सुपरमार्केटमा लुटपाट भएपछि सरकारले प्रसाईँलाई मुख्य योजनाकार ठहर गर्दै पक्राउ आदेश दिएको थियो। प्रहरी अनुसन्धानअनुसार, प्रदर्शनपछि प्रसाईँ ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुष्कर खतिवडाको घर पुगेका थिए। त्यहाँबाट उनी रातारात कान्ति लोकपथ हुँदै ठोरी नाका पार गरेर भारत प्रवेश गरेको दाबी गरिएको छ।
यद्यपि, चैत १७ गते प्रसाईँले भिडियो सन्देश जारी गर्दै आफू काठमाडौँकै मन्दिरमा सुरक्षित रहेको बताएका छन्। उनको यो दाबीप्रति प्रहरीले शंका व्यक्त गरेको छ।
नेपाल प्रहरीका प्रमुख आइजिपी दीपक थापाले प्रसाईँलाई जसरी पनि पक्राउ गर्न निर्देशन दिइसकेको बताएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय प्रहरीसँग समन्वय गरी उनलाई नेपाल फर्काउने तयारी गरिरहेको छ। तर, कानुनी र कूटनीतिक प्रक्रिया जटिल भएकाले पक्राउ सहज नहुने अनुमान गरिएको छ।
यसैबीच, प्रदर्शनका क्रममा संलग्न रहेका राप्रपा नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई पक्राउ गरी राज्यविरुद्धको कसुर, संगठित अपराध र उपद्रव मुद्दा लगाइएको छ। काठमाडौँ जिल्ला अदालतले उनीहरूमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको छ भने अन्य ४१ प्रदर्शनकारीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै गरिएको आन्दोलनको नेतृत्व प्रसाईँले लिएका थिए। तर, प्रदर्शन हिंसात्मक बन्दा आन्दोलन कमजोर भएको र सर्वसाधारणको समर्थन गुमेको विश्लेषण गरिएको छ। प्रसाईँको व्यवसायिक पृष्ठभूमि र विवादास्पद छविले उनलाई फेरि एकपटक विवादको केन्द्रमा ल्याएको छ।


प्रतिक्रिया