वीरगन्ज :

दुग्देश्वर महादेव रामभौरी भाथामा साउने मेला शुरु

श्रेणी : धर्म संस्कृति

5 months
Pradeep Sah
3.2kViews
1602 Shares

सेढवा,३० असार । पर्सा राष्ट्रिय निकुञ्जमा रहेको दुग्धेश्वर महादेव मन्दिर रामभौरी भाथामा आजदेखि साउने मेला शुरु भएको छ। तिथि अनुसार आज साउन महिनाको पहिलो सोमवारका दिन एकाबिहानदेखि दुधेश्वर महादेव मन्दिरमा भगवान शिवको पूजा अर्चना गर्न भक्तजनहरुको भीड लागेको छ । आइतवारदेखि नै पर्सा, बारा, रौटहट, मकवानपुर, चितवन तथा भारतको बिहार र उतर प्रदेशबाट हजारौको संख्यामा भक्तजनहरु मन्दिरमा भगवान शिवको दर्शन गर्न आउनेको भीड देखिएको छ।

भाथा पहाडमा अवस्थित दुधेश्वर महादेवलाई जल, फूल, बेल पत्र, प्रसाद तथा अन्य पुजन सामग्रीहरु चढाई श्रद्धालु भक्तजनहरुले पूजा अर्चना गर्ने गर्छन्। भक्तजनहरुले मनोकामना पूरा भएको भाखल अनुसार अष्ठजामको आयोजना गर्ने तथा भगवान शिवको बिशेष रुपमा पूजा अर्चना गर्ने गर्छन् ।

मानव बस्तीभन्दा १७ किलोमिटर जंगलभित्र पर्सा राष्ट्रिय निकुञ्जमा रहेका यस मन्दिरमा जान अहिले निकुञ्ज प्रशासनले एउटा बाटो खुला गरेको सुनाखरी उपभोक्ता समिति सुवर्णपुरका अध्यक्ष भिमबहादुर पाख्रिनले बताए। निकुञ्जको कार्यालय गढुवालाईनबाट सिधै रामभौरी भाथा जाने बाटोमा जंगली जनावरको सक्रियता बढेकाले सो बाटो बन्द गरिएको र गडुवालाईनबाट चारभैया पोष्टको बाटो भएर मन्दिर सम्म जाने बाटो मात्र संचालनमा रहेको अध्यक्ष पाख्रिनले बताए।

श्री दुधेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष अलखदेव प्रसाद थारुका अनुसार बिगतका तुलनामा यस बर्ष मेला भव्य रुपले लाग्ने तथा ठूलो संख्यामा भक्तजनहरुको आगमन हुने जनाएका छन्। मेला व्यवस्थापनका लागि पर्सा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा मेला व्यापारीहरु साउन महिना भरि बस्न सक्ने र आवश्यक सामानहरू लैजान पाउने व्यवस्था मिलाईएको अध्यक्ष थारुले बताए। साथै भक्तजनहरु तथा अन्य व्यक्तिहरुलाई निकुञ्जको जंगल प्रबेश गर्न बिहान ६ः०० बजेदेखि साझ ६ः३० बजेसम्म समय तोकिएको अध्यक्ष थारुले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *