
श्रेणी : मधेस
रौतहट,०७ साउन । रौतहटको कटहरिया नगरपालिकामा लगातार दुई शिशु र एक युवकको मृत्यु भएपछि आक्रोशित स्थानीयबासीले मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरूले स्वास्थ्य सेवाको चरम अभाव र चिकित्सकहरूको लापरवाहीलाई दोषी ठहर गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
पीडित बाबुलाल दासका अनुसार, उनकी गर्भवती छोरीलाई व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकी थिइन्। नर्मल डेलिभरीपछि जन्मिएको शिशु नरोएको कारण झाँझ फुलस्थित निजी क्लिनिकमा रिफर गरिएको भए पनि बीच बाटोमै शिशुको ज्यान गएको थियो।
त्यस्तै, दोस्रो घटना सोमबार साँझ घटेको हो। कटहरिया–३ बडेर्वाका मनोज साहकी गर्भवती छोरी पुनमलाई पनि व्यथा लागेपछि त्यही स्वास्थ्य केन्द्रमा लगिएको थियो। एक्स–रे गरेर बच्चा जन्मन अझै १० दिन बाँकी रहेको भन्दै उनलाई औषधि दिएर घर पठाइएको थियो। तर, अवस्था जटिल बन्दै गएपछि अर्को निजी क्लिनिक लैजाँदै गर्दा बाटोमै डेलिभरी भयो र शिशुको मृत्यु भयो।
तेस्रो घटना शनिबार रातिको हो। आत्महत्याको प्रयास गरेका पत्रकार रविन्द्र प्रजापतिलाई उपचारका लागि सोही केन्द्रमा लगिएको थियो। तर, अक्सिजनको अभावमा समयमै उपचार हुन नसक्दा उनको पनि ज्यान गएको पीडित परिवारको भनाइ छ।
तीनवटै घटनाले स्थानीयमा आक्रोश फैलिएको छ। उनीहरूका अनुसार स्वास्थ्य केन्द्रमा अक्सिजन, औषधि, ग्लब्सजस्ता सामान्य सामग्रीसमेत छैनन्, चिकित्सकहरू पनि समयमा उपस्थित हुँदैनन्। स्थानीयहरूले नगरप्रमुख अजय प्रकाश जैसवालको लापरवाहीका कारण स्वास्थ्य सेवा धराशायी भएको आरोप लगाएका छन्।
घटनापछि स्थानीयहरूले कटहरिया स्वास्थ्य केन्द्र र नगरपालिकाको कार्यालयमा ताल्चा लगाउँदै दोषी चिकित्सक र कर्मचारीमाथि कडा कारबाहीको माग गरेका छन्।
यसैबीच, ताला खोल्ने प्रयासस्वरूप इलाका प्रहरी कार्यालय कटहरियामा नगर स्वास्थ्य संयोजक डाक्टर र स्थानीयबीच छलफल जारी रहेको कार्यपालिका सदस्य मनोज कुमार जैसवालले जानकारी दिएका छन्।


प्रतिक्रिया