![](https://birgunjreport.com/wp-content/uploads/2025/01/DineshKumarChaudhary.webp)
श्रेणी : अर्थ
वीरगन्ज,१८ पुस । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिमा निर्मित दुई कोठे पक्की भवनको उद्घाटन गरिएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको दश लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित भवनको गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै अध्यक्ष चौधरीले भने, “प्रहरी हाम्रो साथी हो, प्रहरी बिना हामी सुरक्षित महसुस गर्न सक्दैनौं । उनीहरूले रातभर जागेर नागरिकको सुरक्षाका लागि काम गर्छन् । उनीहरूको कार्य वातावरण सहज बनाउन र आवश्यक भवन निर्माणको आवश्यकता पूरा गर्न पालिकाले यो बजेट छुट्याएको हो ।”उनले थपे, “यो भवनले प्रहरीलाई सहज काम गर्ने वातावरण सिर्जना गर्नेछ । यसले पालिका र स्थानीय सुरक्षा निकायबीचको सम्बन्धलाई अझ बलियो बनाउनेछ ।”
उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडा नं. १ का अध्यक्ष विजय गैरे, गाउँपालिकाका इन्जिनियर निर्मल सिंह, शिक्षा संयोजक शम्भु साह, बासु पंजियार, प्रदीप चौरसिया, भवन निर्माण उपभोक्ता समिति पटेर्वा सुगौलिका अध्यक्ष सत्यनारायण साह रौनियार लगायतको उपस्थिति थियो ।
कार्यक्रमका क्रममा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख मोहनजंग बुढाथापाले आफ्नो मन्तव्य राख्दै भवन निर्माणका लागि पालिकाले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले भने, “यो भवनले प्रहरी सेवाको प्रभावकारिता थप वृद्धि गर्नेछ । स्थानिय सरोकारवाला र प्रहरी प्रशासनबीचको सहकार्यले यस क्षेत्रमा शान्ति, सुरक्षा र विकासको नयाँ आयाम थप्ने विश्वास लिएको छु ।”
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिका विभिन्न युनिटका इन्चार्जहरू, स्थानीय बासिन्दा, र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागिहरूले प्रहरी प्रशासनका चुनौती र भविष्यका प्राथमिकताहरूबारे छलफल गरेका थिए ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया