
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडाैं,२६ माघ । भारतीय जनता पार्टी (भाजपा) ले २७ वर्षपछि दिल्लीमा सरकार गठन गर्ने निश्चित भएको छ। बुधबार सम्पन्न विधानसभा चुनावको प्रारम्भिक मतगणनाअनुसार भाजपा एकल बहुमततर्फ उन्मुख देखिएको हो।
मतगणनाको पछिल्लो परिणामअनुसार ७० सिटको विधानसभामा भाजपा ६ सिटमा विजयी भइसकेको छ भने ४२ सिटमा अग्रता कायम गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ।
सत्तारूढ आम आदमी पार्टी (आप) ६ सिटमा विजयी भए पनि १६ सिटमा मात्र अग्रता कायम राख्न सकेको छ। सरकार गठनका लागि आवश्यक ३६ सिटको आँकडा पार गर्न नसक्दा आप कमजोर देखिएको छ।
चुनावमा दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका संस्थापक अरविन्द केजरीवाल भाजपाका परवेश वर्मासँग ३ हजारभन्दा बढी मतले पराजित भएका छन्।
त्यस्तै, पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पनि जंगपुरा निर्वाचन क्षेत्रबाट भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग झण्डै ६ सय मतले पराजित भएका छन्। पराजय स्वीकार गर्दै सिसोदियाले विजेतालाई बधाई दिएका छन्।
हालका मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन्। उनले भाजपाका रमेश बिधुडीलाई ३ हजार ५ सय मतले पराजित गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया