श्रेणी : BANNER
पर्साको क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अन्सारीले जनतासँगको घेटघाटलाई निरन्तरता दिएका छन् । पाँच दलीय सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अन्सारी आफ्नो क्षेत्रका मतदातासँगको घेटघाटमा व्यस्त छन् ।
हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व दिपावली र छठ पर्वको अवसरमा शुभकामना दिँदै जनतासँग मतको लागि पनि अन्सारीले अपिल गरीरहेका छन् । जनताको घरदैलोमा पुग्दै उनले आफुलाई जिताउन आग्रह गरेका छन् । युवाहरु नेतृत्वमा आएपछि मात्रै परिवर्तनको प्रत्याभुती गर्न पाइने अन्सारीको ठहर छ ।
आफु निर्वाचित भएपछि जनताले विकासको आभाष गर्न पाउने उनले दावी गरे । विगतमा पराजित भएर पनि निरन्तर जनताकै साथमा र जनताकै सुखदुखमा रहेको बताउँदै उनले विकासको अभियानमा हातेमालो गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई अमूल्य मत दिन अनुरोध गरेका छन् ।
अन्सारी वीरगञ्ज महानगरपालिका क्षेत्र नम्बर १ (क) का विभिन्न टोलहरुमा पुगेर मतदातालाई आफ्ना एजेण्डा र योजनाहरु सुनाइरहेका छन् । सो अवसरमा मुख्यतया युवा वर्गले अन्सारीलाई समर्थन जनाइरहेका छन् । उनका समर्थकहरुले पनि अन्सारी जत्तिकै सक्षम र योग्य उम्मेदवार अरु नभएको हुँदा उनको जित सुनिश्चित भएको बताएका छन् ।
प्रतिक्रिया