
श्रेणी : BANNER
काठमाडौँ,२१ असाेज । दसैँ बिदा सकिएसँगै सर्वोच्च अदालतसहित देशभरका सबै अदालतहरू आजदेखि पुनः सञ्चालनमा आएका छन्। घटस्थापनाको दिनदेखि बन्द रहेका अदालतहरू आजदेखि सामान्य कार्य सञ्चालनमा फर्किएका हुन्।
हालैको जेनजी आन्दोलन र त्यसपछिका प्रदर्शनका क्रममा सर्वोच्च, विशेष अदालत र विभिन्न जिल्लास्थित अदालत भवनहरूमा तोडफोड र आगजनी हुँदा केही संरचनामा क्षति पुगेको थियो। त्यसपछि अदालतहरूको कामकाज आंशिक रूपमा अवरुद्ध भएको थियो।
यसअघि सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण सम्बन्धी मुद्दाको सुनुवाइ सुरु गरिसकेको छ। अदालतले घटस्थापनाअघिदेखि नै अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिहरूको हिरासत म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, बन्दीप्रत्यक्षीकरण निवेदन, अभियोगपत्रसहित उपस्थित गराइएका प्रतिवादीको बयान र थुनछेकजस्ता कानुनी प्रक्रिया अगाडि बढाइरहेको थियो।
आजदेखि यी सेवा बाहेक थप पाँच प्रकृतिका न्यायिक सेवा सुरु गरिएको सर्वोच्च अदालतले जनाएको छ। ती सेवामा दर्ता विवाह, अधिकृत वारेसनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्ति र विशेष प्रकृतिका निवेदनहरूको दर्ता तथा कारबाही समावेश छन्।
अदालतहरूले अब बिस्तारै नियमित सुनुवाइ र सेवा पुनःस्थापनातर्फ ध्यान केन्द्रित गर्ने तयारी गरेको बताइएको छ।


प्रतिक्रिया